• काठमाडौं : तीन दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुलाउने प्रयास भइरहेको छ । बीपी राजमार्गअन्तर्गत काभ्रे खण्डको विभिन्न ठाउँमा पहिरो र लेदोले अवरुद्ध सडक खुल्न नसक्दा यात्रु समस्यामा परेका छन् ।

    पानी परेपछि अस्ति बिहानदेखि बीपी राजमार्गको काभ्रेमा विभिन्न ठाउँमा पहिरो खसेको थियो भने लेदो पनि बगेको थियो । इलाका प्रहरी कार्यालय मङ्गलटारका अनुसार चौकीडाँडा, चारसयबेसी, बोक्सीकुना र माम्तीमा पहिरो खसेर तथा नार्के, पिन्थलीबेशी, बिरुवाडाँडा, डालाबेशीलगायतको ठाउँमा लेदोको कारण राजमार्ग अवरुद्ध छ ।

    आज दिउँसोसम्म सडक खुलाउने गरी प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । यस्तै म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा पालिकालाई जिल्ला सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक खुलेको छ ।

    बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेत ९घुुमाउने०मा खसेको पहिरो हटाइएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले हिजो पहिरो पन्छाएपछि गाडी चल्न थालेका कार्यालय प्रमुख बिष्णु पौडेलले जानकारी दिए । सडक खुलेपछि दरवाङदेखि बेनी, पोखरा, काठमाडौंलगायत देशका विभिन्न ठाउँमा जाने गाडी चलेका छन् ।