• काठमाडौं : हमासले युद्धविराम सम्झौता उल्लघंन गरेको भन्दै इजरायलले गाजामा हवाई आक्रमण गरेको छ । इजरायलले दक्षिणी गाजामा हवाई आक्रमण गरेको बीबीसीले जनाएको छ ।

    इजरायली सेनाका प्रवक्ताले हमासले एल्लो लाइन अर्थात् पहेंलो रेखा पारि इजरायली सेनामाथि आक्रमण गरेको आरोप लगाएका छन् ।

    प्रवक्ताका अनुसार उक्त क्षेत्रबाट हालै इजरायली सेना पछि हटेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजना प्रस्ताव अनुसार इजरायली सेना पछि हटेको एल्लो लाइन क्षेत्रमा हमासले आक्रमण गरेको प्रवक्ताले भनेका छन् ।

    इजरायली सेना ९आईडीएफ० ले आइतबार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भनेको छ, ‘आज बिहान आतंकवादीहरूले दक्षिणी गाजाको राफाह क्षेत्रमा तैनाथ इजरायली सैनिकहरूमाथि एन्टि ट्यांक मिसाइल प्रहार गरे र गोलीबारी गरे ।’

    जवाफमा आईडीएफले आतंकवादी गतिविधिका लागि प्रयोग हुने सुरुङ र अन्य सैन्य ढाँचालाई ध्वस्त पार्न त्यस क्षेत्रमा आक्रमण थालिएको बताएको छ ।

    ‘यो आतंकवादी गतिविधिहरू युद्धविराम सम्झौताको घोर उल्लघंन हो र आईडीएफले यसको जवाफ दिन्छ,’ इजरायली सेनाले भनेको छ ।

    तर, हमासले भने युद्धविरामका लागि प्रतिबद्ध रहेको प्रतिक्रिया दिएको छ । हमासले पनि इजरायलतर्फबाट युद्धविराम सम्झौता उल्लघंन हुँदै आएको आरोप लगाएको छ ।

    अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजना अनुसार गत १० अक्टोबरमा इजरायल र हमासबीच पहिलो चरणको युद्धविराम सम्झौता लागू भएको थियो ।

    जसअनुसार हमासले नियन्त्रणमा लिएका जीवित बन्धकलाई रिहा गरेको छ । साथै इजरायलले पनि प्यालेस्टिनी बन्धकलाई रिहा गरिरहेको छ ।