• काठमाडौं : मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला नजिकै खसेको सुख्खा पहिरो हटाउन सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार बिहान सात बजेदेखि चार वटा मेसिन प्रयोग गरेर काम थालिएको छ । तर पहिरो ठूलो भएकाले पन्छाउन दिनभर लाग्ने अवस्था छ । सकेसम्म बेलुकासम्म खुलाउने योजनाका साथ काम थालिएको जिल्ला प्रहरी कार्यलय चितवनका सूचना अधिकारी खनालले जनाकारी दिए।

    पहिरोले सडक बन्द हुँदा यात्रु र चालकलाई वैकल्पिक सडक प्रयोग गर्न सडक डिभिजन कार्यालय भरतपुर, चितवनले अनुरोध गरेको छ । तुइन खोला पुल नजिकै हिजो बेलुका ठूलो पहिरो खसेपछि गाडीको आवतजावत पूर्णरूपमा बन्द छ । हिजो दिउँसोदेखि नै सडक बन्द भएकोमा बेलुका थप पहिरो खसेपछि यो सडक खुलाउन समय लाग्ने भएको हो । सडक तत्काल नखुल्ने भएकाले जिल्ला प्रशासन कार्यालय चितवनले यसअघि हिजो नै वैकल्पिक सडक प्रयोग गर्न सूचित गरेको थियो ।

    वैकल्पिक सडकका रूपमा महोत्तरीको बर्दिवास, मकवानपुरको हेटौंडा, रुपन्देहीको बुटवल, नवलपरासी बर्दघाट सुस्ता पूर्वको कावासोती र गैंडाकोट, धादिङको नौबिसे तथा तनहुँको हकमा खैरेनीटारबाट वैकल्पिक मार्ग प्रयोग गर्न चितवन प्रशासनले अनुरोध गरेको हो । चितवनबाट काठमाडौं आउजाउ गर्नका लागि ९साना गाडी मात्रै० चितवनको जुटपानी, शक्तिखोर, मायाटार हुँदै धादिङको मलेखु निस्कने वैकल्पिक सडक प्रयोग गर्न सकिनेछ ।

    त्यस्तै धादिङको नौबिसेबाट मकवानपुरको हेटौंडा निस्कने त्रिभुवन राजपथको बाटोलाई वैकल्पिक सडकको रूपमा प्रयोग गर्न सकिने प्रशासनले जनाएको छ । यस्तै मकवानपुरको हेटौंडाबाट भैंसे, भीमफेदी, कुलेखानी, सिस्नेरी हुँदै दक्षिणकालीको बाटो भएर काठमाडौं पुग्न सकिन्छ ।

    हेटौंडा–काठमाण्डौ आउजाउ ९ठूला गाडी मात्र० का लागि कान्ति लोकपथ प्रयोग गर्न सकिनेछ । चितवनबाट पोखरा जानका लागि ठूला तथा साना दुवै गाडीले बुटवल हुँदै पोखरा जान सक्नेछन् । यसैगरी चितवनबाट कालीगण्डकी करिडोरको बाटो ९सानो गाडी मात्रै० गैंडाकोट भिमाद हुँदै तनहुँ निस्कन सकिनेछ । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो खस्दा केही दिनयता दैनिकजसो यात्रु र चालकले सास्ती भोगिरहेका छन् ।