• काठमाडौं : पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ ।

    शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो ।

    सितलनिवासमा जेन्सी समूह, राष्ट्रपति र नेपाली सेनासमेतको उपस्थितिमा उक्त सहमति जुटेको हो ।

    शपथको तयारीसँगै कार्की मन्त्रिपरिषद् गठनको तयारीमा जुटेकी छन् । स्रोतका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई मन्त्रीहरूबारे निर्णय गरेर आउन भनेका छन् ।

    ‘सरकार तपाईँले चलाउने हो, सल्लाह गरेर सूची ल्याउनुहोला,’ राष्ट्रपतिको भनाई उद्धृत गर्दै स्रोतले भन्यो ।

    कार्कीलाई अन्तिम सरकारको प्रमुखमा चयन गर्ने विषयमा बिहीबार नै सहमति जुटे पनि संसद् विघटनका विषयमा सहमति जुट्न सकेको थिएन । दुवै पक्ष आ–आफ्नो अडान यथावत् रहेका थिए । तर, अन्त्यमा जेनजी अभियन्ताको चेतावनी र सेना प्रमुखको सङ्कटकालको अवस्था आउन सक्ने सुझावपछि संसद् विघटन गर्ने सहमति जुटेको हो ।