• काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक एवम् ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा काठमाडौंको हनुमाढोका दरबार क्षेत्रमा रहेको गद्दी बैठक पुगेर जात्रा अवलोकन गरेका छन् । राष्ट्रपति पौडेल जुद्ध सालिकबाट पैदल वसन्तपुर दरबार गद्दी बैठक गएका थिए ।

    २०८० सालदेखि राष्ट्रपति पौडेल इन्द्रजात्रा अवलोकनका क्रममा जुद्ध सालिकबाट पैदलमार्फत गद्दी बैठक जान थालेका हुन् । उनीसँगै अन्य विशिष्ट व्यक्तित्वहरू पनि पैदलमार्फत गद्दी बैठक पुगेका थिए।

    जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, अन्य जनप्रतिनिधिलगायत सहभागी भएका थिए

    जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा फूलमाला एवम् दक्षिणा चढाएर यात्रा गराउने अनुमति दिनुभएको थियो । त्यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा शुरु गरिएको थियो । भाद्र शुक्ल द्वादशीका दिन बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको हिजो मुख्य दिन हो ।

    गुठी संस्थान धार्मिक एवम् सांस्कृतिक सम्पदा शाखाका प्रमुख राजेन्द्र दाहालका अनुसार आज आइतवार माथिल्लो टोलमा रथयात्रा गराइने छ । आउँदो २६ गते बिहीवार महिलाले मात्र रथ तानी नानीचा यात्रा चलाइने छ । यसै दिन बेलुकी राष्ट्रपति पौडेल हनुमानढोका दरबार जानुभई कुमारीबाट टीका एवम् प्रसाद ग्रहण गर्नुहुनेछ । टीका, प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परासमेत रहेको छ ।

    भदौ २६ गते राति १० बजेर ३२ मिनेटमा इन्द्रध्वजपतन गरेपछि दुई हप्ताभन्दा लामो इन्द्रजात्रा समाप्त हुनेछ । इन्द्रध्वज पतन गरेपछि इन्द्रजात्राको लिङ्गोलाई स्थानीयवासीले घिसार्दै लगी टेकु दोभानमा रहेको बागमती किनारमा पुर्‍याएर सेलाउने परम्परा रहेको धार्मिक एवम् सांस्कृतिक सम्पदा शाखाका प्रमुख दाहालले जानकारी दिए ।