

-
सिरहा : संसार देख्ने आँखा अचानक बन्द भइदिँदा कति अन्धकार हुँदो हो ! दैनिकी चलाउन कति असहज हुँदो हो ? घरभित्र अथवा बाहिर हिडडुल गर्न कसैको सहयोग, दिसा–पिसाव गर्न पनि सहारा लिनुपर्दाको पीडा कति अप्ठ्यारा होलान् सहज अनुमान गर्न सकिन्छ ।
सिरहा नगरपालिका–६ की ६० वर्षीया दारावती दासको जिन्दगी यस्तै पीडा, सङ्घर्ष र छट्पटीबीच विगत एक वर्षदेखि चलिरहेको थियो । चार–पाँच वर्ष अगाडिदेखि उनको आँखाको ज्योति धुमिल हुँदै गएको थियो भने गएको एक वर्षदेखि पूरै ज्योति गुमेको थियो । दैनिक गुजारा चलाउन धौधौ पर्ने दलित परिवारमा उनको हेरचाह बुहारी अनितादेवी दासले गरिरहेकी थिइन् । आर्थिक अवस्था कमजोर भएका कारण उपचार सम्भव भएको थिएन ।
यसबीच वडाले निःशुल्क आँखा शिविर आयोजना गर्यो । उनको आँखामा मोतियाबिन्दु भएको पत्ता त लाग्यो तर कसरी आर्थिक जोहो गर्ने त्यसको कुनै भेउ थिएन । आर्थिक अवस्था कमजोर भएका दारावतीजस्तै वडाका अन्य ५५ मोतियाबिन्दुका बिरामीले आइतबार वडाध्यक्ष इन्द्रजित यादवको पहलमा लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतामा गई आँखाको निःशुल्क शल्यक्रिया गराएका छन् । पुनः आँखाको ज्योति पाएपछि दारावतीजस्तै अन्यको मुहारमा खुसी प्रष्ट देखिन्थ्यो ।
“बुझायत छल, जे आब बुढारी नर्क भगेल, मुदा, अपरेशन भगैल, आँइखक रोशनी हमरा नव जिनगी देलक” ९लाग्दथ्यो, बुढ्यौली उमेर नर्क बन्यो, तर अपरेशनपछि आँखाले ज्योति पायो । फेरि नयाँ जीवन पाएझैँ लागेको छ० आइतबार शल्यक्रियापछि आँखाको ज्योति पाएर खुसीले दङ्ग हुँदै दारावतीले भनिन्।
उनीजस्तै सोही वडाका ६५ वर्षीया किशोरी यादवले पनि नयाँ ज्योति पाएकामा उपचारमा संलग्न चिकित्सक र सहयोग गर्ने वडाध्यक्षलाई धन्यवाद दिँदै खुसी मनाइन् । “धेरै वर्ष भएको थियो आँखामा समस्या देखिएको, आर्थिक अवस्थाका कारण बाहिर गएर उपचार गराउन पनि पाएको थिइनँ”, किशोरीले भनिन्, “तर अध्यक्षज्यूले सबैलाई अस्पतालसम्म लगेर निःशुल्क उपचारको व्यवस्था मिलाइदिनुभयो । उपचार पाएर प्रष्ट आँखा देख्ने भएको छु । अत्यन्त खुसी लागेको छ ।” अन्धकारबाट फेरि यो संसार हामीलाई हेर्नकै लागिरहेछ जनाउँदै उनले नसोचेको सुख बुढ्यौलीमा पाएको अनुभूति भएको बताइन्।
गाउँमा सञ्चालन भएको शिविरले गरिब, विपन्न, अशक्त, ज्येष्ठ नागरिक र बालबालिकालाई ठूलो राहत मिलेको वडाध्यक्ष इन्द्रजितको भनाइ छ । “गाउँमा धेरैजसो न्यून आयस्तर भएका नागरिक, गरिब, दलित र विपन्नको बसोबास हुन्छ, उनीहरू स्वास्थ्यमा समस्या आएपछि उपचार गराउन आर्थिक अभावले गर्दा रोगसँग दिनहुँ लडेर बसिरहन बाध्य छन्, यस शिविरले गाउँका नागरिकलाई धेरै फाइदा पुगेको छ”, उनले अगाडि भने, “जे जसरी सकिन्छ, राज्य हुनुको आभास नागरिकलाई दिलाउनु जनप्रतिनिधि तथा सरकारको दायित्व हो ।”
शिविरमा सामान्य प्रकृतिको आँखासम्बन्धी समस्या भएका बिरामीलाई औषधि खान र लगाउन सुझाव दिइएको र शल्यक्रिया गरिनुपर्नेलाई भने उनीहरूको प्रयोगशाला परीक्षण, चिकित्सकलाई दिइने शुल्क, यस अवधिको आवश्यक औषधि र शल्यक्रियापछि केही दिनसम्म लगाउनुपर्ने कालो चश्मासमेत निःशुल्क उपलब्ध गराइएको छ । जनप्रतिनिधि भएको हिसाबले आफ्ना नागरिक रोगसँग लडिरहँदा उपचारका लागि वडाको बजेट पर्याप्त नभएपछि सहयोगी निकाय खोजेर भए पनि नागरिकको उपचार गर्नुपर्छ भन्ने मान्यताले आफू लागिपरेको वडाअध्यक्ष इन्द्रजितले जानकारी दिए। यसका लागि ‘हेल्पिङ ह्याण्डस नेपाल’को समेत आर्थिक सहयोग रहेको उनले बताए ।
निःशुल्क आँखा शिविरमा तीन सय पाँच आँखाका बिरामी पहिचान भएकामध्ये ७३ जनामा मोतियाबिन्दु पाइएको थियो । उनीहरूमध्ये पहिलो चरणमा ५५ जनाको शुक्रबारदेखि आइतबारसम्म गरी तीन दिनमा शल्यक्रिया गरिएको र बाँकीको पनि चाँडै गरिने वडाअध्यक्ष इन्द्रजितले जानकारी दिए।
उपचारका लागि जिल्लाकै सगरमाथा चौधरी आँखा अस्पताल लहानसम्म आवत जावत गर्नका लागि यातायातको समेत व्यवस्था गरिएको थियो । पछिल्लो समयमा मोतियाबिन्दु उपचारको क्षेत्रमा फिसहुक, फेकोजस्ता नवीन प्रविधि आविष्कार गरी आँखाको उपचार गर्दै आएको अस्पतालले गर्ने गुणस्तरीय उपचारका कारण नेपालसहित छिमेकी राष्ट्र भारतबाट समेत बिरामीको सङ्ख्या बढिरहेको जनाइएको छ । – रासस
News Desk 0 response मङ्लबार, मंसिर १९, २०८०

सम्बन्धित शीर्षकहरु
-
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३
-
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३



