• गायक एवं कलाकार रोविन तामाङको निधन भएको छ।

    काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-५ विष्णुमति चिस्यानीस्थित घरमा उनको निधन भएको हो।

    प्रहरी प्रभाग बुढानिलकण्ठका प्रहरी निरीक्षक दिपेन्द्र चन्दका अनुसार मंगलबार साँझ ६ बजे प्रहरी कन्ट्रोलमा फोन आएको थियो। रोविनले फोन नउठाएको भन्दै प्रहरी कन्ट्रोलमा फोन आएपछि प्रहरी निरीक्षक चन्दसहितको टोली उनको घरमा पुगेको थियो।

    उनका अनुसार सुरूमा रोविनलाई उनकी श्रीमतीले पटकपटक फोन गरेकी थिइन्। उनी बाहिर गएर फर्किने बेलामा घरको गेट लगाइएको थियो। रोविन दोस्रो तलामा बस्थे। उनकी श्रीमतीले बारम्बार फोन गर्दा र बोलाउँदा पनि रोविनले कुनै प्रतिक्रिया दिएनन्।

    त्यसपछि उनकी श्रीमतीले रोविनकी दिदीलाई फोन गरेकी थिइन्। दिदीले पनि रोविनलाई बारम्बार फोन गर्दा पनि नउठाएपछि उनैले प्रहरी कन्ट्रोलमा फोन गरेर जानकारी दिएकी हुन्।

    ‘उहाँ माथिल्लो तलामा बस्नुहुने रहेछ। दुई तलाको घर हो। बाहिरबाट मुख्य गेट पनि बन्द नै थियो,’ घटनास्थल पुगेका प्रहरी निरीक्षक चन्दले भने, ‘हामीले बाहिरबाट भर्‍याङ लगाएर झ्यालबाट हेर्‍यौं। खाटको छेउमा घोप्टो परेर सुतेको अवस्थामा हुनुहुन्थ्यो।’

    रोविन लडिरहेको देखेपछि बचाउन सकिन्छ भनेर ढोका फोडेर प्रहरी र आफन्त कोठामा पसेको उनले बताए।

    ‘तर शव हेर्दा चिसो भइसकेको थियो,’ उनले भने, ‘घटनास्थलमा शंकास्पद केही पनि छैन। खाट र कोठा सबै सफा नै थियो। मुख्य गेट, माथिको ढोका पनि बन्द नै थियो। शंकास्पद केही पनि छैन।’

    उनको मृत्युको कारणबारे पोस्टमर्टमबाट खुल्ने उनले बताए। पोस्टमर्टमका लागि महाराजगन्जस्थित टिचिङ अस्पतालमा लगिएको छ।

    रविन एण्ड द रिभोलुसन ब्याण्डका भोकलिस्ट समेत रहेका रविन पछिल्लो समय चलचित्र अभिनयमा समेत व्यस्त थिए ।

    उनको पछिल्लो फिल्म ‘छड्के २’ थियो । नेपाली रक जनराको गीतको विकासमा उनको योगदान उल्लेख्य मानिन्छ । उनको निधनमा नेपाली संगीतकर्मीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

    लाहुरे परिवारका रविनको जन्म सिंगापुरमा भएको थियो । सिंगापुरमै अध्ययन गरेका उनी अमेरिकी गायक तथा संगीतकार जिमी हेन्ड्रिक्स र रक ब्यान्ड डीप पर्पलबाट प्रभावित थिए । सन् १९९६ मा नेपाल आएका उनले गाएका ‘दम मारो दम’, ‘कल्पना’, ‘केटा केटी’, ‘मेरो माया’, ‘ठीकै छ’ जस्ता कयौं गीत युवापुस्तामाझ चर्चित छन् ।

    उनले ‘जय पशुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’, ‘वान वे’ लगायत एक दर्जन बढी नेपाली फिल्ममा अभिनय गरेका छन् । उनको पछिल्लो फिल्म ‘छड्के २’ थियो जहाँ उनी ग्याङस्टर रोलमा थिए । उनले हिन्दी वेब सिरिज ‘दि लास्ट आवर’मा समेत अभिनय गरेका छन् ।