• काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले तनावमुक्त हुन योग आवश्यक रहेको बताएका छन्। अन्तर्राष्ट्रिय योग दिवस (जुन २१) का अवसरमा बुधबार शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले योगले तनावमुक्त हुने र रोग प्रतिरोधात्मक क्षमता बढाउने बताएका हुन् ।

    शुभकामना सन्देश मार्फत उनले योगबाट सकारात्मक सोच विकास हुने, अनुशासन र आन्तरिक ऊर्जा प्राप्त गर्न मद्दत पुग्ने बताए ।राष्ट्रपतिको सन्देशमा, ‘योगले स्वस्थकर जीवनयापनका लागि हरेक व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन सहयोग पुर्याउँछ। योग शारीरिक अभ्यास मात्र नभई, निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धतिसमेत हो।’ भनिएको छ ।

    संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् २०१४ डिसेम्बर ११ मा पारित प्रस्ताव अनुसार सन् २०१५ देखि हरेक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन सुरु गरिएको हो।