• शारदा पौडेल ‘निशा’

    स्पेन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास ) स्पेनले ३१÷१०÷ २०२२ सोमवार महाकवि लक्ष्मीप्रसाद
    देवकोटाको ११४ औं जन्मजयन्ती, भर्खरै दिवंगत भएका शताब्दी पुरुष सत्यमोहन जोशी र मानवशास्त्री ओम
    गुरुङप्रति हार्दिक श्रद्धाञ्जलि कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा दीपावलीको शुभकामना आदानप्रदान
    गर्नुको साथै रचना वाचन पनि गरिएको थियो ।

    उक्त कार्यक्रम अनेसास स्पेनका अध्यक्ष ओमर गुरुङको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । लोकप्रिय
    कथा वाचक तथा अनुपम स्वरका धनी साइग्रेस पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको उक्त कार्यक्रमलाई
    दिनेश रेग्मीले सञ्चालन गरेका थिए । प्रमुख अतिथि साइग्रेस पोखरेलले दीप प्रज्वलन् गरी शुरुआत गरिएको उक्त
    कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटा, शताब्दी पुरुष सत्यमोहन जोशी तथा मानवशास्त्री ओम गुरुङको
    तस्वीरमा माल्यार्पण गरिएको थियो । उक्त कार्यक्रममा संस्कृतिविद शताब्दी पुरुष सत्यमोहन जोशी तथा
    मानवशास्त्री ओम गुरुङको योगदानलाई स्मरण गर्दै उहाँहरुको दिवंगत आत्मको चिर शान्तिको कामना गर्दै एक
    मिनेट मौनधारण गरिएको थियो ।

    कार्यक्रममा विभिन्न संघसंस्थाका अध्यक्षहरु तथा प्रतिनिधिको बाक्लो उपस्थिति थियो । उपस्थित सम्पूर्ण
    अतिथिहरुलाई अनेसासकी सक्रिय महिला सदस्य निर्मला तिवारीले स्वागत गरेकी थिइन भने तमु समाजका
    अध्यक्ष गौतम गुरुङले मानवशास्त्री डा. ओम गुरुङका बारेमा प्रकाश पारेका थिए । त्यस्तै, संस्थापक अध्यक्ष शारदा
    पौडेल ‘निशा’ ले शताब्दी पुरुष सत्यमोहन जोशीका बारेमा र निर्मला तिवारीले महाकवि लक्ष्मीप्रसाद देवकोटाका
    बारेमा चर्चा गरेका थिए । गैरआवासीय नेपाली संघ स्पेनका अध्यक्ष शालिकराम डुम्रेले अनेसास स्पेनले राम्रो कार्यको
    शुरुआत गरेको र अझै यस्ता कार्यक्रमहरु गर्दै जाओस् भन्दै शुभकामना दिएका थिए । मन्तव्यका क्रममा प्रवासी
    नेपाली मञ्चका अध्यक्ष हेमन्त रानाभाटले अनेसास स्पेनको प्रगतिको कामना गरे । त्यस्तै, गरी अन्तर्राष्ट्रिय
    कलाकार संघ स्पेनका अध्यक्ष डिक कार्की, जन प्रगतिशिलका अध्यक्ष विशाल ढुंगाना, स्याङ्जा सहयोग समाज
    स्पेनका अध्यक्ष विमल गुरुङ, कास्की समाजका अध्यक्ष पुष्प केशी र पर्बत समाज स्पेनका सल्लाहकार गंगा
    भुषालले शताब्दी पुरुष सत्यमोहन जोशी तथा मानवशास्त्री डा ओम गुरुङप्रति श्रद्धा सुमन अर्पण गर्दै अनेसास
    स्पेनको प्रगतिको कामना गरेका थिए भने आ– आफ्ना रचना पनि वाचन गरेका थिए । एनआरएन स्पेनकी महिला
    संयोजक देवी भण्डारीले यस्ता कार्यक्रम बालबालिकाहरुलाई बढी प्रभावकारी हुनेहुनाले यस्ता कार्यक्रमहरु
    गरिरहनुपर्ने कुरामा जोड दिइन भने महाकविका बारेमा कविता वाचन गरिन् ।
    मन्तव्यकै क्रममा अन्तराष्ट्रिय पर्वत समाजका संयोजक सन्तोष पौडेलले अनेसास स्पेनले गरेको कार्यक्रमको
    तारिफ गर्दै संस्थाको प्रगतिको कामना गरे । । कार्यक्रमका प्रमुख अतिथि साइग्रेस पोखरेलले अनेसास स्पेनले अरु

    नयाँ प्रतिभा जन्माउने आशा गर्दै अब संस्थामा युवाहरुको बाहुल्यता हुनुपर्ने कुरामा जोड दिँदै सबैलाई मन्त्रमुग्ध
    बनाउँदै कविता वाचन गरे । उक्त कार्यक्रममा अनेसास केन्द्रबाट चलाइएको बालतारा कार्यक्रमअन्तर्गत पुरस्कृत
    भएका बालतारा अदिती रेग्मी एवम् लिदिया भुसालको प्रसंशा तथा प्रमाणपत्र कार्यक्रम संचालक दिनेश रेग्मीले पढेर
    सुनाएका थिए । कार्यक्रममा क्षेत्री समाजका अध्यक्ष ओम बानियाँलगायत अन्य अतिथिहरुको पनि उपस्थिति थियो

    अन्त्यमा अनेसास स्पेनका अध्यक्ष ओमर गुरुङले आफ्ना मन्तव्य राख्दै मर्मस्पर्शी कविता वाचन गर्दै कार्यक्रमको
    समापन गरे । कार्यक्रम सञ्चालनको पूर्व तयारी साथै सम्पूर्ण प्राविधिक व्यवस्थापन पर्वत समाजका अध्यक्ष
    अनन्त लामिछाने र आशबहादुर गुरुङ (बुद्ध ) ले गरेका थिए ।