• काठमाडौं । पूर्वी नेपालका विभिन्न जिल्लामा सार्वजनिक यातायात सेवा दिँदै आएको अरनिको यातायातमा व्यवस्थापकीय कमजोरी बढेको भन्दै यात्रुहरूले असन्तुष्टि व्यक्त गरेका छन्। दसैँजस्तो चाडपर्वमा यात्रुको चाप बढ्ने समयमा समेत सहज, व्यवस्थित र भरपर्दो सेवा दिन नसकेको भन्दै यात्रुहरूले गुनासो गरेका हुन्।

    अरनिको यातायातले काठमाडौं उपत्यकाबाट काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली हुँदै ओखलढुंगालगायतका जिल्लामा यात्रु सेवा दिँदै आएको छ। विगतमा समयपालना र नियमित सञ्चालनका कारण राम्रो छवि बनाएको यो यातायात सेवा पछिल्लो समय भने आलोचनाको केन्द्रमा परेको यात्रुहरूको भनाइ छ।

    सुरुमा अरनिको यातायात सेवा समितिका रूपमा सञ्चालन भएको संस्था बीचमा पूर्वअरनिको यातायात प्रालिका नाममा सञ्चालनमा आएको थियो। विगतमा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म छोटा बस नियमित रूपमा क्यु प्रणालीमा सञ्चालन हुँदा यात्रुलाई सहज हुने गरेको थियो। तर, अहिले सेवा र सुविधाको गुणस्तर खस्किएको यात्रुहरूको आरोप छ।

    रामेछापका यात्रु माधवप्रसाद सुवेदीले यातायातले मनपरी भाडा लिने, यात्रुसँग राम्रो व्यवहार नगर्ने र टिकट माग्दा काउन्टरमा जान भनिने गरेको गुनासो गरे।

    “अरनिको यातायातले मनपरी भाडा लिने, राम्रो व्यवहार नगर्ने र टिकट माग्दा त्यो लिन काउन्टर जा भन्ने गरेको छ। अहिले व्यवस्थापन नै खत्तम भएको छ,” सुवेदीले भने।

    यात्रुहरूलाई मर्कामा पारेर फाइदा लिने प्रवृत्ति देखिएको उनले आरोप लगाए।

    त्यस्तै, सिन्धुपाल्चोकका यात्रु हरि पौडेलले पनि यात्रुहरूले सास्ती खेप्नुपरेकोमा दुःख व्यक्त गरे। उनले अरनिको यातायातलाई व्यवस्थित बनाउन नेतृत्वदायी भूमिका आवश्यक रहेको उल्लेख गर्दै केदार क्षेत्रीको नेतृत्व क्षमताको प्रशंसा गरे।

    “अरनिको यातायात बचाउन केदार क्षेत्रीबाहेक अरूको दाल गल्नेवाला छैन,” पौडेलले भने। उनले यात्रुलाई सम्मानजनक व्यवहार गर्नुपर्नेमा जोड दिए।

    अर्का यात्रु सुवास नेपालले सीमित व्यक्तिको स्वार्थका कारण संस्था नै जोखिममा पर्ने र यात्रुहरू मर्कामा पर्ने अवस्था देखिएको टिप्पणी गरे। उनका अनुसार संस्थाको व्यवस्थापन सुधार गरी यात्रुको हितलाई प्राथमिकतामा राख्न आवश्यक छ।

    सिन्धुपाल्चोककै यात्रु बद्री तिमिल्सिनाले भने वर्तमान समस्याको कारण नेतृत्वको क्षमतासँग जोडेर हेर्नुपर्ने धारणा राखे। उनले केदार क्षेत्रीको नेतृत्व क्षमता राम्रो रहेको आफ्नो व्यक्तिगत विचार रहेको बताउँदै समय र परिस्थितिले अरनिको यातायातमा उनको अभाव महसुस गराउन सक्ने टिप्पणी गरे।

    यात्रुहरूका यी गुनासाले अरनिको यातायातको सेवा व्यवस्थापन, भाडा निर्धारण, टिकट वितरण र यात्रुसँगको व्यवहारबारे प्रश्न उठाएका छन्। विशेषगरी चाडपर्वको समयमा यात्रुको आवागमन बढ्ने भएकाले सेवा सञ्चालनलाई थप व्यवस्थित बनाउनुपर्ने उनीहरूको माग छ।

    सार्वजनिक यातायात सर्वसाधारणको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको सेवा हो। त्यसैले यात्रुलाई सहज यात्रा, पारदर्शी भाडादर, टिकटको व्यवस्था र सम्मानजनक व्यवहार सुनिश्चित गर्नु यातायात सञ्चालकको जिम्मेवारी हो। विगतमा राम्रो सेवा दिएर विश्वास जितेको अरनिको यातायातले यात्रुका गुनासालाई गम्भीर रूपमा लिएर व्यवस्थापन सुधार गर्नुपर्ने देखिन्छ।