• काठमाडौंः रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनविरुद्ध लामो लडाइँको तयारीमा रहेको अमेरिकाले दाबी गरेको छ । आफ्ना गुप्तचर अधिकारीको रिपोर्ट अनुसार अमेरिकाले उक्त दाबी गरेको हो ।

    युक्रेनको पूर्वी क्षेत्र डोनबास कब्जा गर्न रुसले आफ्ना सेनालाई त्यहाँ केन्द्रित गरेको बेला अमेरिकी गुप्तचर अधिकारीको सो भनाइ सार्वजनिक भएको हो ।

    अमेरिकाको नेशनल इन्टेलिजेन्सको प्रमुख एभ्रिल हेन्सले सिनेटमा सुनुवाइको क्रममा आगामी केही महिनामा रुसले युक्रेनमाथिको आक्रमण अझै तीव्र पार्न सक्ने छ । ‘युद्धको अहिलेको अवस्था हेर्दा यस्तो लाग्छ पुटिन अझै नाटकीय कदम उठाउन सक्छन् ।’

    अमेरिकी गुप्तचर अधिकारीहरुको भनाइ अनुसार पूर्वी युक्रेनमा जित हासिल गरे पनि त्यहाँ लडाइँ रोकिने सम्भावना देखिंदैन । रुसले युक्रेनको पूर्वी क्षेत्र कब्जा गर्न खोज्दा त्यहाँ ठूलो लडाइँ जारी छ । रुस युक्रेन युद्धमा अनुमान गरिएभन्दा धेरै मानिस मारिएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।