पिस्कर राजनैतिक एवम् ऐतिहासिक रुपमा महत्वपूर्ण स्थल । जहाँ पञ्चायती निरंकुशता बिरुद्ध शंखघोष गरेर परिवर्तनको लागि शहादत भएको थियो । दुई महान शहीदले यहाँ मृत्युवरण गर्नु परेको थियो । जुन भूमिबाट सयौं परिवर्तनका पक्षधर मानिसहरु गिरफ्तार गरिएको थियो । ०४० सालको माघे संक्रान्तिमा तत्कालीन नेकपा (माले)को राजनीतिक गतिविधिको केन्द्रविन्दूमा थियो पिस्कर । माक्र्सवादी र लेनिनवादी दर्शनद्वारा प्रशिक्षित अगुवाहरूको अग्रसरतामा पिस्करको महादेवस्थानमा लाग्ने संक्रान्ति मेलाको उपयोग गरी जनतालाई संगठित र जागरुक बनाउने अभियान अन्तर्गत भएको सांस्कृतिक कार्यक्रमले पञ्चायती शासक डराएको थियो । त्यतिवेला पिस्करले स्थानीय सामन्त र निरंकुश पञ्चायती व्यवस्थामाथि धक्का दिएको थियो ।
तत्कालीन नेकपा (माले) र पिस्करवासीको सशक्तता र जागरणका कारण पञ्चायत र तानाशाही प्रशासन तथा सरकारले आफ्नो वर्चश्वलाई जोगाइराख्न सुनियोजित ढङ्गले पिस्कर हत्याकाण्ड गरेको थियो । संक्रान्ति मानेडाँडामा करिब २ सय जनाको नेपाल प्रहरीहरूको जत्थाले न्यायप्रेमी समुदायमाथि अन्धाधुन्ध गोली चलाएका थिए । वीरबहादुर थामी घटनास्थलमै मारिए भने इले थामीको शव दावीखोलाको किनारमा स्याउलाले छोपेको अवस्थामा फेला परेको थियो । घटनामा पल्कमाया थामी (मृत्यु), साङडोल्मा, बेत्रावती पौडेल, सावित्री बोहरा, कर्णकुमारी बोहरा, चिनी कार्की, शोभा बोहरा, बिर्खमाया थामी, तारा बोहरा, ललितकुमारी बोहरा, मन बोहरा गिरफ्तार भएका थिए । छत्रबहादुर बोहरा, मानबहादुर थामी, मेघनाथ पौडेल, अरुण नेपाल, सरेश नेपाल, गोपाल थपलिया लगायत दर्जनौंले जेलको यातना खेप्न परेको थियो । कालो रातले बीरवहादुर थामी र ईली थामीको ईहलीला समाप्त पारेको थियो ।
तत्कालिन शासकको गोलीले मृत्युवरण गरेका दुई थामीको बलिदानीले पञ्चायतको क्रुरता र बर्बरतालाई उदांगो पारेको थियो । पिस्कर आफैमा गौरवको नाम भएपनि यहाँको संरक्षण र विकासमा बिस्तारै मात्र योजना निर्माण भएका छन् । बिगतमा सामान्यरुपमा विकासका योजना र निर्माणका काम भएपनि अहिले यसले द्रुतता पाएको छ । पिस्करकै भूमिमा जन्मेर नेपाली राजनीतिकको मियोको रुपमा स्थापित हुनु भएका अमृतकुमार बोहोराको योजना र समन्वयमा अहिले बिस्तारै पिस्करको रुप बदलिन थालेको छ । महादेव मन्दिरमा तत्कालिन पञ्चायती सरकारका प्रहरीले गोली प्रहार गरेर मुक्तिकामी जनतालाई हताहती पारेको थियो । सोही स्थानमा अहिले मन्दिर निर्माण गरिएको छ । यसले धार्मिक एवम् ऐतिहासिक महत्वको स्थलको जगेर्ना गरेको छ ।
बिगतमा सामान्यरुपमा रहेका दुई जना शहिद थामीको शालिक निर्माण भएको छ । त्रिपुरासुन्दरी गाउँपालिकाले पिस्करको महत्व उजागर गर्ने उदेश्यले शहिदस्तम्भ निर्माण गरेको छ । यो स्तम्भले यस ठाउँको राजनीतिक महत्वलाई अझ उजागर गरेको छ । गाउँपालिकाले १७ लाख रुपैयाँ खर्च गरेर शहिद गेट निर्माण गरेर शहिद र शहिद परिवारको सम्मान गरेको छ । त्यसोत बागमती प्रदेश सरकारको सहयोगमा निर्माण भएको शहिदस्तम्भको महत्व निक्कै माथि रहेको छ । प्रदेश सरकारले दश लाख र त्रिपुरासुन्दरी गाउँपालिकाले १० लाख खर्च गरेको यो महत्वपूर्ण क्षेत्रको सम्झना गरेको छ । त्यसका साथै संग्रहालय र पार्क पनि निर्माणको चरणमा छ । बिगतमा पिस्कर गाउँपालिकामा पर्ने यो क्षेत्र नयाँ संरचनासँगै त्रिपुरासुन्दरी गाउँपालिकामा परेको छ । त्यसकारण प्रशासनिकरुपमा पिस्करलाई टाढा पारेजस्तो भान पनि भएको थियो । सोही बिषयलाई ध्यान दिएर अहिले गाउँपालिका भवन पनि यही ठाउँमा निर्माण भईरहेको छ । केही संरचना निर्माणाधिन छन् भने केही संरचना उद्घाटन पनि भईसकेको अवस्था छ । यी संरचनाले साँच्चै यस क्षेत्रको भौतिक विकासका साथै राजनैतिक एवम् ऐतिहासिक विकासमा टेवा पुर्र्याएको चर्चा हुन थालेको छ ।
शहिद थामी दुईजनाको सम्मान यी भौतिक संरचनाले गरेपनि उहाँहरुको परिवारको सम्मानमा पनि गाउँपालिकाले योजना निर्माण गरेको छ । यहाँका थामी परिवार शैक्षिक रुपमा पनि पछि नै छन् । स्वास्थ्यको क्षेत्रमा पनि पछि परेका शहिद थामी परिवारलाई स्वास्थ्य र शिक्षाका क्षेत्रमा केही सहयोग गर्ने उदेश्यले गाउँपालिकाले स्वास्थ्य शिक्षा कार्यक्रम अन्तर्गत ईली र बिरवहादुर थामीको परिवारलाई सहयोग गर्ने कोष निर्माण गरिएको छ । बार्षिक एक लाख रुपैयाँका दरले उहाँहरुको परिवारलाई शिक्षाको क्षेत्रमा गाउँपालिकाले सहयोग गरिरहेको छ । बिगतमा सडक सञ्जालमा पनि समस्या रहेको पिस्कर क्षेत्र अहिले सडक सञ्जालमा पनि परेका छ । गाउँपालिकाको योजनामा हरेक गाउँमा सडक निर्माण गरेर गाउँमै मटर बाटो पुग्ने वातावरण बनाईएको छ ।