• भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि कमी आएको छ ।

    पछिल्लो समय केरला राज्यमा दैनिक सङ्क्रमितहरुको सङ्ख्या एकाएक बढेपछि देशभरीको सङ्ख्यामा पनि वृद्धि देखिएको थियो ।

    यसअघि दैनिक ४० हजारभन्दा बढी सङ्क्रमितहरु थपिने गरेकामा अहिले घटेर ३८ हजार पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

    केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार बिहान सार्वजनिक गरेको विवरणअनुसार भारतमा थप ३८ हजार ९४८ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

    ती मध्ये केरला राज्यमा मात्रै २६ हजार ७०१ जना सङ्क्रमित भएका छन् । भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड ३० लाख २७ हजार ६२१ पुगेको मन्त्रालयले जनाएको छ ।

    पछिल्लो ७१ दिनदेखि भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या ५० हजारभन्दा कम हुदै आएको छ । त्यसैगरी पछिल्लो केही दिनदेखि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्यामा पनि बृद्धि भएको छ ।

    केही हप्तासम्म चार लाखभन्दा कम सक्रिय सङ्क्रमितहरु रहेकोमा अहिले बढेर चार लाख चार हजार ८७४ पुगेको छ ।

    भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म चार लाख ४० हजार ७५२ को मृत्यु भएको छ भने तीमध्ये २१९ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो ।

    त्यसैगरी एक दिनमा ४३ हजार ९०३ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।