• काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदेयश त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप सबै जनताको पहुँचमा पुर्‍याउने प्रयास भइरहेको बताएका छन् ।

    मन्त्रालयले आज आयोजना गरेको ‘कोभिड–१९ खोप अभियान’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले सबै जनतालाई खोप उपलब्धता जटिल भए पनि विभिन्न माध्यमबाट खोप खरीद गरी पुर्‍याउने प्रयास भइरहेको बताए । “सबै देशले आफ्ना जनतालाई खोप लगाउँदैछन् । खोपको माग र उत्पादन अवस्था हेर्दा नेपाली सबैलाई खोप पुर्‍याउने जटिल छ”, उनले भने, “तर हामीले विभिन्न माध्यमबाट खोप ल्याएर सबै जनतालाई पुर्‍याउने प्रयासमा छौँ ।”

    सरकारले कूल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप उपलब्ध गराउने लक्ष्य लिएको छ । पहिलो चरणअन्तर्गत १।४ प्रतिशतलाई खोप प्रदान गरेको छ । मन्त्री त्रिपाठीले भारतमा उत्पादन भएको कोभिशिल्ड खोपको ५० लाख मात्रा किन्ने प्रक्रियासमेत शुरु भइसकेको जानकारी दिए । यसअघि सरकारले भारत सरकारको अनुदानमा १० लाख मात्रा खोप र खरीद गरेको १० लाख मात्रा खोप आइसकेको छ भने १० लाख मात्रा खोप भारतबाट आउने प्रक्रियामा रहेको छ ।

    सरकारले भोलिदेखि दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप लगाउन थालेको छ । २० दिनसम्म चल्ने खोप अभियानमा १६ हजार ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिँदैछ ।