• काठमाडौं । गएको २४ घण्टामा थप ७४२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार यस अवधिमा ६ हजार ३५१ जनाको परीक्षण गर्दा ४४८ पुरुष र २९४ महिला गरी कूल ७४२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दुई लाख ५४ हजार ५१४ पुगेको छ ।

    यसैगरी पछिल्लो २४ घण्टामा एक हजार ७९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै हालसम्म उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या दुई लाख ४४ हजार ७४३ पुगेको छ । हालसम्म नेपालमा सात हजार ९७६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    आज काठमाडौँ उपत्यकामा मात्र ३११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये काठमाडौँमा २३५, ललितपुरमा ५५ र भक्तपुरमा २१ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण नेपालमा ७ जनाको मृत्यु भएको छ ।