• काठमाडौं । कोभिड– १९ को सङ्क्रमणबाट विदेशमा थप ११ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार विगत दुई सातामा युएईमा मात्र थप आठ नेपालीको मृत्यु भएको छ भने यो साता मलेसियामा एक र केन्यामा एक नेपालीको मृत्यु भएको हो ।

    गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका हालसम्म विदेशमा ५२ हजार १५७ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । तीमध्ये ४९ देशका ४९ हजार ११० नेपाली कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । यो कूल सङ्क्रमितको ९४ प्रतिशत रहेको हो ।

    शनिबार साँझसम्म विश्वका विभिन्न २१ मुलुकमा रहेका सङ्ख्या ३१२ जनाको कोरोना सङ्क्रमणका कारणले निधन भएको सङ्घले जानकारी दिएको छ । सङ्घका अनुसार यो साता मलेसिया, भारत, कतार, युएई, नाइजेरिया, साउथअफ्रिका, क्यानाडा, अष्ट्रिया, जापान र दक्षिण कोरियामा रहेका नेपालीमा थप कोरोना सङ्क्रमण देखिएको छ ।