• काठमाडौंं । बुधबार काठमाडौं उपत्यकामा मात्र थप ७ सय २३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यसरी पुष्टि हुनेमा पुरुष ३९८ र महिला ३२५ जना रहेका छन् । जसमा काठमाडौंका ५ सय ३१, ललितपुरका १ सय ३४ र भक्तपुरका ५८ जना भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

    यसैगरी उपत्यकासहित देशभरबाट २४ घण्टाको अवधिमा १ हजार ४ सय ९० जनामा संक्रमण पुष्टि भएको बुधबार आयोजित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता डा. गौतमले बताएका थिए । उनका अनुसार यस अवधिमा थप ९ जनाको संक्रमणका कारण मृत्यु भएको छ भने १ हजार ५ सय ६७ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् ।

    मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार देशभरी सक्रिय संक्रमितको १६ हजार ५४७ रहेका छन् भने कोरोनाको आशंकामा क्वारेन्टाइनमा रहनेको संख्या ६०५ पुगेको छ ।