• काठमाडौं । गएको २४ घन्टामा थप १ हजार ६१४ जनामा कोरोना संक्रमण पुष्टि भएको विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार यस अवधिमा ९ हजार ४९१ वटा नमूनाको पीसीआर परीक्षण भएकोमा उक्त संख्यामा नयाँ संक्रमित फेला परेका हुन् । यीसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २७ हजार ६ सय ४० पुगेको छ ।

    त्यसैगरी यसै अवधिमा थप २३ को कोरोनाकै कारण मृत्यु भएको पनि मन्त्रालयले पुष्टि गरेको छ । यसरी अहिलेसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको कुल संख्या १४ सय १२ पुगेको छ । यसरी नेपालमा संक्रमितको मृत्यु हुने दर ०.६ प्रतिशत रहेको छ ।

    आज थपिने नयाँ संक्रमितमा काठमाडौं उपत्यकाबाट मात्र ७८५ रहेका छन् । जसमा ३३७ महिला र ४४८ पुरुष रहेका छन् । यसरी संक्रमित हुनेमा काठमाडौंमा ६२०, ललितपुरमा ११४ र भक्तपुरमा ५१ जना रहेको मन्त्रालयले आफ्नो विवरणमा उल्लेख गरेको छ ।

    बिहीबारको तथ्यांकअनुसार २४ घण्टाको अवधिमा १ हजार ४३७ जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ जना पुगेको पनि विवरणमा उल्लेख गरिएको छ । अर्थात् नेपालमा संक्रमित निको हुने दर ९२ प्रतिशत पुगेको छ ।

    आज थपिएका नयाँसहित बाँकी सक्रिय संक्रमित १६ हजार ७९३ पुगेको पनि मन्त्रालयले बताएको छ ।