• काठमाडौं । गएको २४ घण्टामा थप १ हजार ६७४ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले शनिबार आफ्नो आधिकारिक वेवसाइटमार्फत नयाँ थपिएका संख्याबारे जानकारी दिएको हो ।

    संक्रमितमध्ये महिला ६६१ र पुरुष १ हजार १३ जना रहेका छन् । यस अवधिमा ८ हजार १४४ वटा नमूनाको पीसीआर परीक्षण भएका थिए । यीसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । त्यस्तै यसै अवधिमा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पनि मन्त्रालयले पुष्टि गरेको छ । यसरी अहिलेसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको अहिलेसम्म संख्या १ हजार ३०५ पुगेको मन्त्रालयले सार्वजनिक गरेको छ ।

    मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार २४ घण्टाको अवधिमा २ हजार ३२३ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको संख्या १ लाख ९३ हजार ३२५ पुगेको छ । यसरी निको हुने दर ८८.४ प्रतिशत पुगेको छ ।

    त्यसैगरी बाँकी सक्रिय संक्रमितको संख्या अहिले देशभरि २४ हजार ९ जना रहेका छन् भने कोरोना संक्रमणको आशंकामा क्वारेन्टाइनमा रहनेको संख्या ७५७ जना रहेका पनि मन्त्रालयले जानकारी दिएको छ ।