• काठमाडौं । बिहीबार थप ३ हजार ५१ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । संक्रमितमध्ये १ हजार ८४२ पुरुष र एक हजार २०९ महिला रहेका छन् । यीसँगै नेपालमा संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ । मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार २४ घण्टामा १३ हजार ६८ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण भएको थियो ।

    आज थपिने नयाँ संक्रमितमा काठमाडौं उपत्यकाबाट मात्र १ हजार ३९८ जना रहेका बताइएको छ । जसमध्ये काठमाडौंमा १ हजार ९१, ललितपुरमा १६० र भक्तपुरमा १४७ रहेका छन् ।

    यस अवधिमा थप १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पनि मन्त्रालयले पुष्टि गरेको छ । यसरी अहिलेसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १ हजार ५२ पुगेको छ । यस्तै आज ३ हजार ४३० जना कोरोनामुक्त भएका छन् भने हालसम्म यसरी निको निको हुनेको १ लाख ४८ हजार ४०८ संख्या पुगेको छ । मन्त्रालयको तथ्यांक अनुसार अहिले देशभरी सक्रिय संक्रमितको संख्या ३६ हजार ५१४ रहेको छ । त्यसैगरी अहिले क्वारेन्टाइनमा रहनेको संख्या १ हजार २३२ जना पुगेका छन् ।