• काठमाडौं । २४ घण्टामा २ हजार ८२४ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो आधिकारिक वेवसाइटमार्फत सार्वजनिक गरेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार यस अवधिमा १३ हजार २३ वटा नमूनाको परीक्षण भएकोमा उक्त संख्यामा नयाँ संक्रमित थपिएका हुन् । यीसँग अब नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ । त्यसैगरी यसै अवधिमा ३ हजार ६२० जना डिस्चार्ज भएका छन् । यसरी अहिलेसम्म कोरोनामुक्त हुनेको कुल संख्या १ लाख ३४ हजार ८४२ पुगेको छ । यो निको हुनेको दर ७७ प्रतिशत हो ।

    मन्त्रालयको विवरणमा आज थपिने नयाँ संक्रमितमा काठमाडौं उपत्यकाबाट मात्र १ हजार ६२२ जना रहेका छन् । यीमध्ये काठमाडौंमा १ हजार ३६२, ललितपुरमा १६४ र भक्तपुरमा ९६ जना छन् ।

    त्यसैगरी नेपालमा अहिलेसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ९६० को मन्त्रालयको दिएको विवरणमा उल्लेख गरिएको छ । २४ घण्टामा मात्रै थप २३ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । यस्तै मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ३७ हजार ७६५ रहेको छ । तीमध्ये संस्थागत आइसोलेसनमा ६ हजार ७७९ जना छन् भने बाँकी होम आइसोलेसनमा रहेका छन् । मन्त्रालयको तथ्यांक अनुसार हाल आइसीयूमा २८३ र ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।