• काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा नेपालमा थप ३ हजार ७९० जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । सोमबार मन्त्रालयमा आयोजित पत्रकारसम्मलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा १५ हजार ७४३ नमूनाको पीसीआर परीक्षण भएकोमा उक्त संख्यामा देखिएको जानकारी दिएका हुन् । यीसँग नेपालमा अहिलेसम्म कोरोना संक्रमितको कुल संख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।

    त्यसैगरी यस अवधिमा थप २ हजार ३३५ जनाले कोरोना जितेर डिस्चार्ज भएसँगै अहिलेसम्म कोरोनामुक्त हुनेको सख्या ९४ हजार ५०१ पुगेको सो अवसरमा प्रवक्ता डा. गौतमले जानकारी दिएका थिए । उनका अनुसार सोमबार मात्रै थप १८ जनाको मृत्यु भएको छ । यीसँगै अहिलेसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ७५७ पुगेको छ ।

    आज थपिएका नयाँ संक्रमितसहित देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल संस्थागत आइसोलेसनमा १३ हजार ८५१ र २६ हजार ९२७ होम आइसोलेसनमा रहेका छन् । त्यसैगरी क्वारेन्टाइनमा ४ हजार ४७० जना छन् ।