• काठमाडौं । विगत २४ घण्टामा ४ हजार ३९२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयको कोभिड–१९ अपडेटका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार थपिएका संख्याको पुष्टि गरेका हुन् । यसरी अहिलेसम्म नेपालका कोराना संक्रमितको कुल संख्या संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको उनले जानकारी दिए । उनले यस अवधिमा देशभरका विभिन्न प्रयोगशालामा १६ हजार ५३१ वटा नमूनाको पीसीआर परिक्षण भएको सो अवसरमा जानकारी दिएका थिए ।

    प्रवक्ता डा. गौतमका अनुसार यसै अवधिमा ३ हजार ५ सय २२ जना डिस्चार्ज भएका छन् । यसरी अहिलेसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ८८ हजार ४० जना पुगेको छ । यो निको हुने दर कुल संक्रमितको ६९ दशमलव ८ प्रतिशत हो । कुल संक्रमितमध्ये हालसम्म ७ सय १५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । २४ घण्टाको अवधिमा थप २१ जनाको संक्रमणबाट मृत्यु भएको उनले पुष्टि गरेका छन् ।

    मन्त्रालयका अनुसार आज थपिएका नयाँ संक्रमितसँगै अहिले देशभर ३७ हजार ३८२ जना सक्रिय संक्रमित रहेका छन् । यीमध्ये संस्थागत आइसोलेशनमा १२ हजार ३३६ र होम आइसोलेशनमा २५ हजार ४६ जना छन् । त्यसैगरी क्वारेन्टाइनमा ४ हजार ४०८ जना छन् ।