• काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा २ हजार ६३८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा १३ हजार ९४७ वटा नमूनाको पिसिआर परीक्षण भएकोमा उक्त संख्यामा नयाँ संक्रमित थपिएको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् । उनका अनुसार यीसँगै नेपालमा संक्रमितको संख्या एक लाख १७ हजार ९९६ पुगेको छ ।

    त्यसैगरी यस अवधिमा २ हजार १७४ जना डिस्चार्ज भएका छन् । यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ८० हजार ८९५ पुगेको सो अवसरमा प्रवक्ता डा. गौतमले जनाए । बाँकी सक्रिय संक्रमितको संख्या अहिले ३६ हजार ३६७ पुगेको छ । जसमध्ये संस्थागतमा १४ हजार ८१९ र होम आइसोलेशनमा २१ हजार ५६८ जना रहेका छन् । त्यस्तै संक्रमितमध्ये अहिले आईसीयूमा ३०५ र भेन्टिलेटरमा ७० जनाको उपचार भइरहेको उनले जानकारी दिए ।

    मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा थप १२ जनाको मृत्यु भएको छ । यसरी अहिलेसम्म नेपालमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ६७५ पुगेको मन्त्रालयको अद्यावधिक तथ्यांकमा उल्लेख गरिएको छ । त्यसैगरी देशभरका क्वारेन्टाइनमा चार हजार ६६६ जना रहेका छन् ।