• काठमाडौं । विगत २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ६८४ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये काठमाडौंमा १ हजार २९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मंगलबार मात्र उपत्यकामा १ हजार १७ जना संक्रमित भएका थिए ।

    त्यसैगरी उपत्यकामा थपिएको संख्यासँगै मुलुकभरबाट यस अवधिमा ३ हजार ४ सय ३९ जनामा कोरोनाभाइरस संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । यो संख्या अहिलेसम्मकै धेरै हो । यीसँगै नेपालका कोरोना संक्रमितको कुल संख्या ९४ हजार २५३ पुगेको छ । आज थपिएका नयाँ संक्रमितसँगै नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजार ७ जना पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

    २४ घण्टाको अवधिमा थप १ हजार १२६ जना कोरोनामुक्त भएका छन् । यीसँगै नेपालमा अहिलेसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ६८ हजार ६६८ पुगेको मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार थप १५ जनाको कोरोनाबाट मृत्यु भएको छ । यीसहित नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय ७८ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । त्यसैगरी हाल क्वारेन्टिनमा ४ हजार १६४ जना रहेका छन् ।