• काठमाडौं ।

    राजनीतिमा टिक्नु छ भने सत्य हैन झुटको खेती गर्नु पर्छ । जागीरमा टिक्ने हो भने कर्तब्यनिष्ठ, इमान्दार र क्षमतावान हैन, नक्कली हिरोइज्म खडा गरेर मानव ढाल तयार गरे हुन्छ । सिरक ओढेर लुट्ने काम गर्नु पर्छ, लुट्नेहरुको ग्याङमा जोडिनु पर्दछ । यो मुलुकमा टिक्ने हो भने ठूलाठूला डिग्री देखाएर सत्तालाई सरापी रहनु पर्छ र गफ चुटी रहनु पर्छ । देश कङाल भएर फाटेको कट्टु मास्तिर तान्दै खाडीको तातो घाममा गधा चराउन जानु परेनि ठूला ठूला गफ चुटेर सत्तालाई सराप्न छोड्नु हुँदैन । भेडो स्कुलिङका जनता, भ्रष्ट र नालायक ब्युरोक्रेसी अनी अपारदर्शी नेताको मात्रै देश भएको छ । यो देशमा सुखद र राम्रो समाचार ५ सय जनाले पढ्न रुचाउँदैनन्, गलत भएपनि देश जनता मुलुक सकिएको समाचार आए लाखौं त्यसैमा झुन्डिन्छन् । कति मान्छेहरुले मलाई भन्छन ( तपाईं अलिक चर्को भाषा किन प्रयोग गर्नु हुन्छ लेखाइमा ? ब्यक्तिगत रुपमा सार्है नरम हुनुहुन्छ भनेर। मैले जवाफ दिने गरेको छु ( यो मुलुकमा नकारात्मकता मात्रै सुन्ने र देख्ने बानी परेका मान्छे धेरै छन, त्यसैले पाठकको ध्यान तान्न राम्रो र सकारात्मक कुरा पनि चर्को र नकारात्मक शैलिमा राख्नु पर्छ । मैले जती सकारात्मक कुरा सम्प्रेशण गरेपनि के गर्नु यदी त्यसले पाठकको ध्यान तानेन भने ? त्यसैले मेरो शैली चर्को हुन्छ, उठाएका बिषय हैन । अचेल सत्य त्यही हुने गरेको छ जुन कुरा पत्रकारको मगजमा फुर्छ र अबोध नागरिक त्यो सुचनाको श्रोत के हो भन्ने ज्ञान राख्दैनन् । यहाँ तथ्य सत्य मरेको छ, तथ्य वा वास्तविकता मुर्छा पारीएको छ, ब्ल्याकमेल गरिएको छ, अपहरित भएको छ, सेन्सर गरिएको छ । तर म भन्छु ( सत्यको निम्ती मान्छे शुकरात बन्न पनि तयार हुनु पर्छ, झुटको खेती लामो समय टिक्दैन। म बार बार भन्ने गर्छु ( म हरेक पल नागरिक सम्बादमा रहन चाहन्छु । म खाएको घुष पचाउन जसले जे जो आरोप लगाएपनि घोसेमुन्टो लाएर चुप चाप सहेर बस्ने निरिह कर्मचारी हैन । पारदर्शी जीवन जिउनेले यो दुनियाँमा कसैसँग डराउनु, तर्सिनु, हिनताबोध गर्नु वा झस्किनु पर्दैन ।