• बेइजिङ । कोरोनाभाइरसको महामारी शुरुवात भएको देश चीनको राजधानी बेइजिङमा बिहीबारदेखि अन्तर्राष्ट्रिय विमानहरु आउन थालेका छन् ।

    बेइजिङमा रहेको मुख्य विमानस्थलमा बिहीबारदेखि सीमित संख्यामा अन्तर्राष्ट्रिय विमानहरु आउन थालेको अधिकारीहरुले जानकारी दिएका छन् ।

    कोरोनाभाइरसको महामारी फैलिन थालेपछि गत मार्चदेखि बन्द भएको विमानस्थलमा फेरि अन्तरदेशीय विमान सेवा सुरु भएको हो ।

    कोरोनाभाइरसको खतरा कम देखिएको निश्कर्ष निकाल्दै अधिकारीहरुले विमान सेवा सूचारु गर्ने निर्णय गरेका हुन् ।

    बिहीबार पहिलो दिनको अन्तर्राष्ट्रिय उडानमा कम्बोडिया, ग्रिस, डेनमार्क, थाइल्याण्ड, पाकिस्तान, अस्ट्रिया, क्यानाडा र स्विडेनबाट यात्रु आएका छन् ।

    चीनमा आउन लागेकाहरुलाई विमान प्रवेश गर्नुअघि कोरोनाभाइरसको सङ्क्रमण नभएको प्रमाण पेस गर्नु पर्ने व्यवस्था पनि गरिएको छ ।

    अहिले प्रारम्भिक तथा परीक्षण अवधि भएकाले दैनिक नियमित रुपमा पाँच सयको हाराहारीमा यात्रुहरु आउने व्यवस्था मिलाइएको स्थानीय एक अधिकारीले जानकारी दिए ।

    चीनको राजधानी बेइजिङमा गत मार्चको शुरुवातदेखि नै सबै अन्तर्राष्ट्रिय विमान सेवाहरु बन्द गरिएको थियो । एपी