

-
काठमाडौं : सरकारले बुहप्रतिक्षित सङ्घीय निजामती सेवा विधेयक, २०८३ सङ्घीय संसद् सचिवालयमा दर्ता गरेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले आज विधेयक संसद्मा दर्ता गरेका सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । सरकारी विधेयकका रूपमा प्रस्तुत विधेयकको दर्ता नं ३५ रहेको छ । यही असोज १३ गतेको मन्त्रिपरिषद् बैठकले सङ्घीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसद्समक्ष पेस गर्न स्वीकृति दिएको थियो ।
सरकारले सङ्घीय शासन प्रणालीअनुसार सङ्घ, प्रदेश र पालिकाबीचको प्रशासनिक सम्बन्ध, कार्यक्षेत्र र सहकार्यलाई व्यवस्थित, स्पष्ट र प्रभावकारी बनाउँदै प्रशासनिक संयन्त्रलाई राजनीतिक प्रभावबाट मुक्त गरी निजामती सेवालाई व्यावसायिक, सक्षम, उत्तरदायी र जनमुखी बनाउन विधेयक आवश्यक परेको स्पष्ट पारेको छ ।
विधेयकमा निजामती सेवालाई राष्ट्र हित र सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध र सुशासनमुखी संयन्त्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।
३० वर्ष वा ५५ वर्षमै अवकाश
विधेयकको सबैभन्दा महत्वपूर्ण व्यवस्थामध्ये एक ऐन प्रारम्भ हुँदाका बखत कायम रहेका कर्मचारीको अनिवार्य अवकाशसम्बन्धी व्यवस्था हो।त्यस्ता कर्मचारीले ५५ वर्ष उमेर पूरा गरेको वा ३० वर्ष सेवा अवधि पूरा गरेको भए अनिवार्य अवकाश पाउनेछन्। यसले हालको ५८ वर्षे अवकाश व्यवस्थामा एकपटकका लागि ठूलो परिवर्तन गर्नेछ।
ऐन प्रारम्भ भएपछि नियुक्त हुने वा त्यसपछि सेवामा कायम रहने कर्मचारीका हकमा भने सामान्य अवकाश उमेर ६० वर्ष हुनेछ।
नयाँ व्यवस्थाले ३० वर्ष सेवा पूरा गरे पनि उमेर कम रहेका कर्मचारीलाई समेत अवकाशमा पठाउनेछ। सरकारले लामो समयदेखि सेवा गरिरहेका कर्मचारीलाई व्यवस्थापन गर्दै नयाँ जनशक्तिका लागि अवसर सिर्जना गर्ने उद्देश्यले यो व्यवस्था अघि सारेको हो। तर, यसको प्रभाव कर्मचारीको सेवा अवधि, पेन्सन दायित्व र प्रशासनिक अनुभवमा पर्ने विषयमा संसद्मा छलफल हुने देखिन्छ।
पेन्सनमा यस्तो व्यवस्था
विधेयकमा २० वर्ष वा सोभन्दा बढी सेवा गरेका निजामती कर्मचारीले आजीवन मासिक निवृत्तिभरण पाउने व्यवस्था छ।पेन्सन गणना गर्दा कुल सेवा अवधि अधिकतम ३० वर्षसम्मलाई आधार मानिनेछ। मासिक निवृत्तिभरण रकम कुल सेवा वर्षलाई अन्तिम तलबले गुणन गरी ५० ले भाग गर्दा आउने रकमका आधारमा निर्धारण हुनेछ।
निवृत्तिभरणको न्यूनतम रकम समान पदको बहालवाला कर्मचारीको सुरू तलबको ५० प्रतिशतभन्दा कम हुने छैन। अधिकतम रकम भने सुरू तलब स्केलभन्दा बढी नहुने व्यवस्था छ।
बहालवाला कर्मचारीको सुरू तलब स्केल वृद्धि भए समान पदका सेवानिवृत्त कर्मचारीको निवृत्तिभरणमा पनि त्यसको दुई तिहाइ रकम थप हुने व्यवस्था विधेयकमा छ।
करार र ज्यालादारी नियुक्तिमा कडाइ
विधेयकले निजामती कर्मचारीबाट गर्नुपर्ने काममा ज्यालादारी वा करारमा कर्मचारी राख्ने व्यवस्थामा कडाइ गरेको छ।ऐनले तोकेको विशेष अवस्थाबाहेक निजामती कर्मचारीले गर्नुपर्ने कामका लागि ज्यालादारी वा करारमा कुनै व्यक्ति नियुक्त गर्न पाइने छैन।
ऐनविपरीत नियुक्ति गरे त्यस्तो नियुक्ति स्वतः बदर हुनेछ। त्यसरी नियुक्त व्यक्तिले पाएको तलब, भत्ता तथा अन्य सुविधा नियुक्ति गर्ने अधिकारीबाटै असुलउपर गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
मुख्यसचिव दुई वर्ष, सचिव तीन वर्ष
विधेयकमा राजपत्राङ्कित विशिष्ट श्रेणीका उच्च पदमा रहने कर्मचारीको पदावधि तोकिएको छ।मुख्यसचिव तथा मुख्य रजिस्ट्रार रहने अधिकृत चौधौं तहको पदावधि दुई वर्ष हुनेछ। त्यस्तै सचिव वा सोसरहका अधिकृत तेह्रौँ तहका कर्मचारीको पदावधि तीन वर्ष हुनेछ।
विशिष्ट श्रेणीका कर्मचारीको हकमा पदावधि पूरा हुनु वा ६० वर्ष उमेर पुग्नुमध्ये जुन पहिले हुन्छ, त्यसैका आधारमा अवकाश हुने व्यवस्था गरिएको छ।
विधेयकमा कर्मचारीको सेवा, नियुक्ति, सरूवा, बढुवा, अवकाश तथा प्रशासन सञ्चालनसँग सम्बन्धित अन्य व्यवस्थासमेत समेटिएका छन्। संसदमा दर्ता भएपछि यी व्यवस्थामाथि सांसदहरूले दफावार छलफल र संशोधन गर्न सक्नेछन्। प्रस्तावित व्यवस्था संसद्बाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्रै कानुनी रूपमा लागू हुनेछ।
News Desk 0 response बिहिबार, अशोज १५, २०८३

सम्बन्धित शीर्षकहरु
-
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३
-
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



