• काठमाडौं : नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले आफ्नो समूहको महाधिवेशन प्रक्रियामा सहभागी हुनेलाई कारबाही गर्ने संस्थापनका सभापति गगन थापाको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । उनले कांग्रेसको इतिहास, विचार र विरासत बोकेका नेताहरूलाई पन्छाएर स्वघोषणाका आधारमा कसैले आधिकारिक पार्टीको दाबी गर्न नसक्ने जिकिर गरे ।

    पूर्वसभापति शेरबहादुर देउवा समूहको महाधिवेशनअन्तर्गत शुक्रबार (मंसिर ११) सप्तरी जिल्ला अधिवेशन उद्घाटन गर्न पुगेका महतले थापाको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै कांग्रेस निर्माण गर्नेहरूकै पार्टी नहुने अवस्था कसरी आयो ? भनेर प्रश्न गरे ।

    कांग्रेस र लोकतन्त्रलाई कमजोर बनाउने उद्देश्यले ‘कसैको नियोजित पात्रका रूपमा काम’ गर्नेहरूलाई वास्तविक उत्तराधिकारी मान्न नसकिने उनको भनाइ थियो ।

    “नेपाली कांग्रेस जसले निर्माण गर्‍यो, उसको नहुने, अनि कांग्रेस र प्रजातन्त्र कमजोर बनाउन कसैको नियोजित पात्र बन्छ, उसको कसरी हुन सक्छ ?” महतले प्रश्न गरे ।

    उनले कांग्रेसका संस्थापक बीपी कोइराला, गणेशमान सिंह, महेन्द्रनारायण निधि र कृष्णप्रसाद भट्टराईको राजनीतिक विरासत आफूहरूसँग रहेको बताए ।