• काठमाडौं : प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीको रिट निवेदन बिहीबार अध्ययनका लागि राखिएको छ । सरकारको निर्णय उत्प्रेषणको आदेशले बदर गरी आईजीपीमा पुनर्बहालीको माग राखेर कार्कीले बिहीबार सर्वोच्च अदालत प्रशासनमा रिट पेस गरेका थिए ।

    कार्कीको रिटमा सहजीकरण गरेका अधिवक्ता टीका कुँवरले आज अध्ययनका लागि प्रशासनमै राखिएको र दर्ता नभएको जानकारी दिए । “रिट बिहान साढे १० बजे नै पेस भएको थियो । मुख्य रजिस्ट्रारबाट आज अध्ययनका लागि रहने जानकारी आयो । दर्ताको विषयमा भोलि शुक्रबार टुंगो लाग्ला,” कुँवरले भने, “हामी सर्वोच्चबाट फर्किइसक्यौँ ।”

    सुनुवाइको मौका नदिई आधार र कारणविनै गैरकानुनी रूपमा प्रहरी प्रमुखबाट हटाइएको दाबी कार्कीको माग छ । सरकारको कात्तिक १८ को निर्णय अनुरुप कार्कीलाई आईजीपीबाट पदमुक्त गर्दै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाइएको थियो ।

    त्यसपछि एआईजी रहेका डा. मनोजकुमार केसीलाई प्रहरी प्रमुखमा नियुक्त गरिएको छ । सरकारको निर्णय रोक्न कार्कीको माग छ ।