• काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई धरौटीमा छुटेका छन् । उनीहरू ललितपुर जिल्ला अदालतले मागेको जनही पाँच लाख रुपैयाँ धरौटी बुझाएर बुधबार साँझ छुटेका छन् ।

    उनीहरूको बयान र थुनछेक बहस सकिएपछि न्यायाधीश हरिसिंह धामीको इजलासले जनही पाँचरपाँच लाख रुपैयाँ धरौटी मागेको थियो । ललितपुर अदालतका स्रेस्तेदार भेषराज कोइरालाले नेम्बाङ र राई जनही पाँच लाख धरौटी रकम बुझाएर साँझ तारेखमा छुटेको जानकारी दिए ।

    ‘उहाँहरू अदालतमा जनही पाँचरपाँच लाख रुपैयाँ धरौटी रकम बुझाएर साँझ तारेखमा बस्नुभएको छ,’ स्रेस्तेदार कोइरालाले बाह्रखरीसँग भने । उनीहरूविरुद्ध खेल मिलेमतो तथा ठगी सम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रतिवेदनमा आधारमा अभियोगपत्र दायर भएको थियो । नेम्बाङ र राईसँगै एन्फा कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सन्जीव पाण्डेविरुद्ध पनि मुद्दा दायर भएको थियो ।

    जोशी र पाण्डे भने पहिले नै धरौटी तारिखमा छुटिसकेका छन् । उनीहरू धरौटीमा छुटे पनि मुद्दामा फैसला हुन भने बाँकी छ ।