• काठमाडौं : तिहारको पाँच दिने लामो विदालाई सदुपयोग गर्दै तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाँगाझोलीमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । पर्यटकको भिड लाग्न थालेसँगै पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

    यहाँ रिसोर्ट सञ्चालनमा ल्याएसँगै चहलपहल बढ्न थालेको रिसोर्टका प्रबन्धक रावन्त आचार्यको भनाइ छ । नेपालीहरुको दोश्रो ठूलो चाड तिहार लागेसँगै दैनिक आन्तरिक पर्यटकको भिड वढ्न थालेको छ । यो क्षेत्र धार्मिक पर्यटकीयस्थलको रुपमा विकास भएको छ ।

    धार्मिक पर्यटकीयस्थलको रुपमा परिचित तीनखोले मन्दिर नजिकै झाँगाझोली रहेको छ । मन्दिर जानेआउने एवं भक्तजन र पर्यटकहरु यस झाँगाझोलीमा आउने गरेका छन् । दसैं पर्वमा सुरु भएसँगै कर्मचारी, विद्यार्थीले लामो छुट्टी पाउने भएकाले हाल चहलपहलमा वृद्वि हुन थालेको झाँगाझोलीका सञ्चालक शङ्खरप्रसाद अधिकारीले जानकारी दिए ।

    अधिकारीका अनुसार रातको समयमा देखिने आकर्षक किसिमको गौरादेवी नेचुरल पार्कको अवलोकन गर्न बढी भीड लाग्छ । अधिकारीले भने, ‘तिहारका कारण विद्यालय बिदा भएसँगै व्यवस्थित चिल्ड्रेन पार्ककमा रमाउन बालबालिकाको पनि उत्तिकै घुँइचो लाग्ने गरेको छ ।’

    पृथ्वी राजमार्गको खैरेनीटार बजारबाट दुई दशमलव पाँच किलोमिटर दूरीमा झाँगाझोली रहेको छ । रिसोर्ट करिब १७ रोपनी क्षेत्रफलमा फैलिएको छ । यसमा तीन जना सञ्चालकले करिब २ करोड रुपियाँ लगानी गरेका छन् । झाँगाझोलीले ग्राहकको मागलाई मध्यनजर गर्दै तन्दुरी कर्नर समेत सञ्चालनमा ल्याएको अधिकारीले बताए । इण्डियाको तन्दुरी रेष्टुरेण्टमा लामो काम गरेका उत्कृष्ठ सेफले तयार पारेका विभिन्न स्वादिष्ठ परिकारहरुले आगन्तुकलाई मनै लोभ्याउने गरेको छ ।

    आन्तरिक तथा बाह्य गरी दैनिक तीनसय जना पर्यटक घुम्नको लागि आउने गरेको अधिकारीले जानकारी दिए । उनका अनुसार पर्यटकलाई थप आकर्षित गर्न जडीबुटी तथा नमुना पाङ्गरिक तरकारी खेती समेत सुरु गरिएको छ । करिब ५ रोपनी क्षेत्रफलमा तरकारी खेती गरिएको छ ।

    एकीकृत नमुना कृषितर्फ च्याउ र मौरी जडिबुटीको खेती थालिएको छ । बिहानको समयमा यस स्थानबाट देखिने हरियाली जंगलको मनमोहक दृश्य र खोलाको कलकल आवाज र शान्त एकान्त स्थलले पर्यटकलाई आनन्द दिलाउने गरेको छ । झाँगाझोलीमा रात विताउनेहरुको लागि एसीसहितको अत्याधुनिक व्यवस्थासहितका लक्जरी कोठा छन् ।