• काठमाडौं । आज साउन महिनाको पहिलो दिन अर्थात् साउने सक्रान्ति पर्व मनाइँदै छ । असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने संक्रान्ति पर्व मनाउने गर्दछन् ।

    हिलोमाटोमा काम गर्नु पर्ने भएकाले छालासम्बन्धी रोग नलागोस् भनेर साउने संक्रान्तिको दिन लुतो फाल्ने प्रचलनसमेत छ । परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, जोले कागती, जोले मकै, जोले सुन्तला, जोले नासपाति आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसी स्वभाव भएका देवताको पूजा गरी अगुल्टो फालिन्छ । लुतो फाल्दा आ–आफ्नो परम्परानुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ । यसो गर्दा छालासम्बन्धी कुनै पनि रोग नलाग्ने विश्वास छ । आजकै दिनबाट किसानहरुले बारीको मकै पोलेर खाने प्रचलन समेत केही ठाउँमा पाईन्छ । 

    साउन महिना भगवान् शिवको पूजा गरेर पनि मनाइन्छ । महिलाहरुले हरियो चुरा, रातो, पहेँलो वस्त्र, मेहन्दी लगाउँछन् र साउनको प्रत्येक सोमबार व्रत बसेर शिवको पूजा गर्दछन् ।

    साउन महिनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लाग्छ ।  आज सोमबारे औँसी समेत भएकोले यस दिन दान गर्नाले मृत्युपश्चात् मुक्ति पाईने विश्वास हिन्दु सनातन धर्ममा पाईन्छ । सोमबारे औंसीको दिन कसैसँग नबोली नुहाउनुपर्ने जनविश्वास रहेको छ ।