• काठमाडौं : थाईल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चालले राजनीतिक जीवनबाट सन्यासको घोषणा गरेका छन् ।

    यद्यपि उनले नयाँ सरकार गठन नभएसम्म प्रधानमन्त्रीका रूपमा काम गर्ने बताएका छन् ।

    युनाइटेड थाई नेसन (यूटीएन) दलको आधिकारिक फेसबुक पेजमार्फत उनले एक विज्ञप्ति निकालेर अब यूटीएनको सदस्यबाट राजीनामा दिएर राजनीतिक जीवन त्याग गरेको घोषणा गरेका हुन् ।

    उनले देश, धर्म र राजतन्त्रका संस्थाहरूको रक्षा गर्न आग्रह पनि गरेका समाचार संस्था एएफपीले जनाएको छ ।

    थाई संसद्मा नयाँ प्रधानमन्त्रीका लागि मतदान हुनु केही दिन अघि वर्तमान प्रधानमन्त्रीको सन्यास घोषणा भएको हो ।

    आठ वर्षअघि सत्ता कब्जा गरेका सेना प्रमुख प्रयुत चानले थाई राजनीतिमा लामो समयदेखि चलिरहेको द्वन्द्वको फाइदा उठाउँदै अत्यधिक विवादास्पद सन् २०१९ को चुनावलाई नियन्त्रणसँगै सुदृढ पार्ने प्रयास गरेका थिए ।