• काठमाडौं : परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले रुसी सेनामा नेपालीहरू भर्ती भएको वा नभएको भन्ने कुरा सरकारलाई जनकारी नरहेको बताएका छन् ।

    सोमवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्री साउदले सामाजिक सञ्जाल, अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आए पनि सरकारलाई अहिलेसम्म यसबारेमा कुनै जानकारी नरहेको बताए । उनले यसबारेमा जानकारी लिनका लागि सरकारले मस्कोमा रहेको दूतावासमा आवश्यक रिपोर्ट गर्न निर्देशन दिइसकेको बताए ।

    उनले भने, ‘रुसी सेनामा नेपाली भर्ना सम्बन्धमा अहिले बाहिर मिडियामा आएको कुरालाई लिएर मस्कोमा रहेको दूतावासमा आवश्यक रिपोर्ट गर्न निर्देशन दिएका छौँ । केही अन्तर्राष्ट्रिय मिडिया र केही सामाजिक सञ्जालमा यी कुरा आए पनि वास्तविक तथ्य, यो मान्छे, यो ठेगानाको यसरी यो सेनामा भर्ना भएको छ भन्ने किसिमको आइसकेको छैन । यसमा अध्ययनको चरणमा छौँ ।’

    यस्तै मन्त्री साउदले अहिलेसम्म बीआरआई परियोजना अन्तर्गतका कुनै पनि कार्यक्रम नेपालमा सञ्चालन नभएको बताउनुभयो । उहाँले चीन सरकारसँग बीआरआईका लागि नेपालले २०१७ मा सम्झौता गरेको तर त्यसपछि बीआरआई अन्तर्गत कुनै पनि योजना नेपालमा अघि नबढेको बताए ।

    पछिल्लो समय चिनियाँ राजदूत छन सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजनाअन्तर्गतको भएको दाबी गरेका छन् ।