• ताप्लेजुङ : दुई हप्तादेखि मेची राजमार्ग अवरुद्ध हुँदा पाथीभरा आउने भक्तजन प्रभावित भएका छन्। मेची राजर्मागअन्तर्गत पाँचथरको हेवा खोलामा रहेको मोटरेबल पुल पहिरोले बगाएसँगै ताप्लेजुङमा अवस्थित पाथीभरामा आउने भक्तजनको सङ्ख्या घटेको हो ।

    विभिन्न जिल्लाबाट आएका गाडी ताप्लेजुङ प्रवेश हुन नसकेसँगै पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने भक्तजनको सङ्ख्यामा कमी आएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताए।

    गएको असार ३ गते राति वर्षासँगै गएको बाढीपहिरोले अवरुद्ध भएको मेची राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । पाँचथर जिल्लाको हेवा खोलामा रहेको मोटरेबल पुल बाढीले बगाएसँगै अहिले ताप्लेजुङसँग अन्य जिल्लाको सडक सम्पर्क विच्छेद भएको छ ।

    विगतमा दैनिक एक हजारको हाराहारीमा आउने भक्तजनको सङ्ख्या अहिले एक सयभन्दा कम हुन थालेको महतले बताए । समयमै पुल नबन्दा यात्रुले सास्ती खेप्नु परेको छ । ताप्लेजुङ जिल्लाबाट अन्य जिल्ला जानका लागि पाँचथरको हेवा खोलावारिसम्म पुगेर खोलामाथि बनाइएको फड्के पुल तरेर पारि पाँचथर जिल्लाबाट अर्को गाडी चढ्नुपर्ने बाध्यता छ ।

    तीन हप्ता भइसक्दा पनि राजमार्ग पुनः सञ्चालनमा आउन सकेको छैन । पुल बाढीले बगाएसँगै ताप्लेजुङ, पाँचथरका हिलिहाङसहित फालेलुङ र याङवरक गाउँपालिकासँग सडक सम्पर्क विच्छेद भएको छ । बाढीले पुल बगाएपछि बनाउन थालिएको बेलिब्रिज अझै सकिएको छैन ।

    पुल बगाएकै दिनदेखि बेलिब्रिज हाल्ने निर्णय गरिएको थियो । त्यही दिन कोशी प्रदेशका मन्त्री, सुरक्षा निकायका प्रदेश प्रमुख जिल्ला आएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैँ निरीक्षणमा आउँदा प्रतिकूल मौसमका कारण हेलिकप्टर बस्न सकेन । केही दिन अगाडि मात्र विभागीय प्रमुखहरूसँग भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले स्थलगत अवलोकन गरेका थिए।

    अहिले ताप्लेजुङमा खाना पकाउने ग्यास, खाद्यान्नलगायतका सामग्री अभाव भइसकेको ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापाले बताए । लामो समय राजमार्ग अवरुद्ध हुँदा ताप्लेजुङ जिल्लामा खाद्य वस्तु तथा दैनिक उपभोग्य वस्तुहरूको आपूर्ति हुन नसकेको ताप्लेजुङ उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

    छिटोभन्दा छिटो बेलिब्रिज बनाउने प्रयास भइरहेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए ।

    उनले भने, ुबेलिब्रिज बनाउने काम नागरिक अपेक्षाअनुसार केही ढिला भएकै हो । आवश्यक सामग्री समयमै पुर्याएका थियौँ । फाउण्डेशन बनाउन नै बाढीले समस्या गरायो, जतिसक्दो छिटो काम सम्पन्न गर्न सबै हिसाबले लागेका छौँ ।ु सडक विभागका अनुसार बढीमा एक हप्तामा काम सकिने गरी निर्माण कार्यमा भइरहेको छ ।