• रसुवा ।
    बाहिर जिल्लाका व्यवसायी तथा मजदुरहरुलाई चीनतर्फ प्रबेशका लागि अध्यागमन कार्यालयले दिएको पास स्थानीय जनप्रतिनिधिले खोस्न थालेका छन् । रसुवा नाका रहेको गोसाईकुण्ड गाउँपालिकाका जनप्रतिनिधिले अध्यागमन कार्यालयको छाप र अधिकृतको हस्ताक्षर भएको प्रवेश पास खोसेर मजदुरलाई अलपत्र पारेको गुनासो छ । वडा नम्वर एकका वडा अध्यक्ष उर्गेन तामाङले पास खोसेको मजदुरहरुले बताए । यद्यपी, केरुग नाका भने वडा नम्वर दुईमा पर्दछ ।

    झण्डै तीस जना मजदुरको पास खोसएको कारण सिन्धुपाल्चोकलगायतका जिल्ला वाट गाडी लिएर त्यहाँ पुगेका मजदुर अलपत्र परेको चालक भीमवहादुर तामाङले बताए । अध्यागमन कार्यालय रसुवाको समन्वयमा रसुवा भन्दा वाहिरका मजदुरलाई चीनतर्फ जानका लागि नेपाल चीन सीमाक्षेत्रका बासिन्दाका लागि अनुमति पत्र दिने व्यवस्था मिलाईएको छ । सो पत्र पनि जनप्रतिनिधिलेनै खोसेपछि राज्यनै नभएजस्तो अनुभव भएको एक चालकले बताए । यस बिषयमा उजुरी गरेपनि स्थानीय प्रशासनले पनि खासै सुनुवाई नगरेको तीस जना मजदुरहरु बताउँछन् ।


    बिवादित वडाअध्यक्ष


    वडा नम्वर एकका वडा अध्यक्ष उर्गेन चीनतर्फ जान नपाउने मध्येमा पर्दछन् । स्थानीयवासिन्दाका अनुसार अबैध सुन कारोवारमा उनको नाम प्रहरी प्रशासनसँग छ । ०७६, ०७७ का प्रतिवेदन अनुसार उनले अबैध तवरले सुनको कारोवार गरेको रसुवाका तत्कालिन प्रहरी प्रमुखले जानकारी दिए ।

    प्रहरीका अनुसार गुण्डागर्दीमा पनि संलग्न उर्गेनलाई चीनियाँ व्यवसायीले पनि खोजी गरेका छन् । चीनको सीमामा उर्गेनको फोटो देखाउँदै चीनियाँ व्यवसायीले उनलाई खोजिगरिरहेका छन् । त्यसोत एक प्रहरी अधिकृतका अनुसार त्यतिवेला चिनियाँ नागरिकले नेपालतर्फनै प्रवेश गरेर उर्गेनका बारेमा खोजविन गरेका थिए ।

    अबैध आर्जनकै आडमा वडा अध्यक्ष बिजयी भएका उर्गेनले मजदुरलाई दुःख दिएका बारे अध्यागमन कार्यालयमा पनि जानकारी दिएका छन् । उर्गेन भने अध्यागमनमा पैसा खुवाएर पास लिएका कारण खोसिएको बताउँदै आएका छन् ।