• काठमाडौं : पहिरोले अवरूद्ध नारायणगढ–मुग्लिन सडक पुनः सञ्चालनमा आएको छ ।

    चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गएराति २ बजे पहिरो खसेपछि सडक अवरूद्ध भएको थियो। बिहान ६ बजेदेखि पहिरो पन्छाउन थालिएको थियो।

    पहिरो पन्छाउने काम सकिएपछि अहिले दुईतर्फी नै सवारी सञ्चालन भएको छ । पहिरोमा परी एउटा ट्रक पल्टिएर ट्रक चालक घाइते भएका थिए । उक्त ट्रकलाई सडक किनारामा राखिएको र सवारी आवागमन दुईतर्फी नै सञ्चालन गरिएको हो ।

    आइतबार झण्डै १८ घण्टा अवरुद्ध भएको यो सडक साँझबाट सञ्चालन भएको थियो।

    यसको केही समयमा फेरि पहिरो खसेकोमा पहिरो पन्छाएर सडक सञ्चालन गरिएको थियो । यो सडक हुँदै दैनिक हजारौँ सवारीसाधन आउजाउ गर्ने गर्दछन्।

    नेपालकै लाइफलाइन मानिएको सडक पटक–पटक अबरुद्ध हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन्।