• काठमाडौं : भारतको महाराष्ट्रमा मुम्बई–नागपुर एक्सप्रेसमा गुडिरहेको एक निजी बस शनिबार बिहान दुर्घटना भएको छ ।

    उक्त दुर्घटनामा २५ जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ । ३३ यात्रु सवार बस नागपुरबाट समृद्धि राजमार्ग हुँदै पुनेतर्फ जाँदै थियो ।

    गुडिरहेकै बेला टायर पड्किएपछि बस चालकको नियन्त्रण बाहिर गएर एक खम्बामा ठोकिएको थियो । ठक्करको क्रममा डिजेल ट्याङ्की फुटेर आगो लागेको थियो ।

    केही यात्रुले भने बसको सिसा फुटाएर ज्यान बचाएका हुन् । मृतकको पहिचान भइनसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    दुर्घटना हुनुभन्दा आधा घण्टाअघि खाजाका लागि बस रोकिएको थियो ।

    यसैबीच महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले दुर्घटनामा ज्यान गुमाउनेका परिवारजनलाई पाँचपाँच लाख रुपैयाँ आर्थिक सहायता दिने घोषणा गरेका छन् ।