• काठमाडौं : आज हरिशयनी एकादशी । हरेक वर्ष असार शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा रोपेर मनाइन्छ।

    एक महिनाअघि जेठ शुक्ल एकादशीका दिनमा राखिएको दलको बिरुवा आज तुलसीको मोठमा रोपिन्छ। सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।

    असार शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो ।

    भगवान विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । यस वर्ष भने साउन महिनामा अधिकमास परेकाले पाँच महिना हुने भएको छ । एक वर्षमा २४ वटा एकादशी पर्छ । यस वर्ष भने अधिकमासका दुईसमेत गरी २६ वटा एकादशी परेको छ ।

    हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि काठमाडौं उपत्यकाका बूढानीलकण्ठ, चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको चाप छ । वैज्ञानिकरुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रुपमा समेत प्रयोग गरिन्छ । तुलसीको मोठ भएका ठाउँमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत गरिन्छ ।