• काठमाडौं : पछिल्लो २४ घण्टामा ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी चार हजार एक सय २६ जनाको नमूना परीक्षण गर्दा ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप एक सय १६ जना संक्रमणमुक्त भएका छन् ।

    यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण एक जनाको ज्यान गएको छ । नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या एक हजार दुई सय ८३ जनामा झरेको छ ।

    यसैबीच नेपालमा डेङ्गीको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २९ जना पुगेको छ । देशका ७६ जिल्लामा फैलिएको डेङ्गीबाट २२ हजार नौ सय ८८ जना संक्रमित भएकोमा २९ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । डेङ्गी संक्रमण लामखुट्टेको टोकाइबाट सर्ने रोग भएकोले डेङ्गीबाट बच्नको लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने डाक्टरहरुको सुझाव छ ।