• पाकिस्तानका राष्ट्रपति आरिफ अल्भीले संसद् विघटनको प्रस्ताव सदर गरेका छन् । आज आइतवार प्रधानमन्त्री इमरान खानको प्रस्तावलाई उहाँले सदर गरेसँगै पाकिस्तानको संसद् विघटन भएको छ ।

    संसद् विघटनसँगै उनले आउँदो ९० दिनभित्र चुनाव गर्ने घोषणा पनि गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    प्रधानमन्त्री खानले संसद्‌मा आफूविरुद्धको अविश्वास प्रस्ताव पेस गर्न उपसभामुखले अस्वीकार गरेको केही बेरमै संसद् विघटनको सिफारिस गरेका हुन् । विपक्षी दलहरूले काम गर्न नदिएकाले अहिलेको संसद् विघटन गरेर चुनाव जान लागिएको उनले बताए ।

    पाकिस्तानमा लामो समयदेखि विपक्षी दलहरूले प्रधानमन्त्री खान र उनी नेतृत्वको सरकारविरुद्ध आन्दोलन गर्दै आएका थिए ।

    देशका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री खानले चुनावका लागि तयारी अवस्थामा रहन आम नागरिकलाई आह्वान पनि गरेका छन् । विपक्षले आफूविरुद्ध गरेको अविश्वास प्रस्तावको विरोध गर्दै उनले यसलाई देशमाथि गरिएको ‘धोका’ को संज्ञा दिएका थिए।

    प्रधानमन्त्री खानले आफू निडर भएर स्वतन्त्र र लोकतान्त्रिक पाकिस्तानका लागि लडाइँ जारी राख्ने बताएका छन् । उनले पाकिस्तानका युवालाई बाह्य शक्तिहरूले गरेको षड्यन्त्रविरुद्ध आन्दोलन गर्न र आवाज उठाउन भन्दै आफू अन्तिमसम्म सत्यको पक्षमा लडिरहने बताएका छन् ।

    प्रधानमन्त्री खानले प्रतिपक्षी दलका नेताहरूले आफूविरुद्ध लगाएका आरोपलाई जनमतद्वारा खारेज गरिदिने चेतावनी पनि दिएका छन् ।