• काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाको संक्रमण बढ्न थालेपछि काठमाडौँलगायत देशका ठूला शहरी क्षेत्रका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको छ ।

    स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले आज काठमाडौंमा आयोजित एक कार्यक्रममा नयाँ खालको भाइरस बढ्दै गएपछि एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्नेबारे मन्त्रि परिषद् बैठक र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) मा समेत छलफल गरिएको जानकारी दिएका हुन् ।

    “शहरी क्षेत्रमा कम्तीमा एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने कि भन्ने तयारी छ”, उनले भने, “अनलाइनबाट कक्षा सञ्चालन गर्दा सात–आठ लाख विद्यार्थी घरमै रहेर पढ्ने र त्यसले २० प्रतिशत आवतजावतमा कमि आउने देखिएको छ ।”

    मन्त्री त्रिपाठीले अहिलेको नयाँ भाइरस (भेरियन्ट) युवा र बालबालिकामा पनि देखिएकाले डर लाग्दो रहेको बताएका थिए । १८ वर्षभन्दा मुनिका बालबालिकाका लागि खोप विकास भएको छैन । अहिले देखिने भाइरस बालबालिकामा पनि सर्ने भएको र उनीहरुलाई खोपसमेत लगाउन नमिल्ने भएकाले सङ्क्रमण दर फैलिन सक्ने सम्भावनालाई ध्यानमा राखेर अनलाइन कक्षा सञ्चालन गर्नुपरेको उनले बताए ।