• काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ सङ्क्रमणको महामारी अन्त्य नहुन्जेल मास्क लगाउन, भौतिक दूरी कायम गर्न र साबुनपानीले हात धुनेलगायतका स्वास्थ्य मापदण्ड पूरा गर्ने कार्य कायम राख्न आह्वान गरेका छन् ।

    प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको वक्तव्यमार्फत अहिलेसम्म सरकारले गरेका काम र अवस्थाबारे जानकारी दिँदै उहाँले कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि सर्तकता र सावधानी आवश्यक भए पनि आतङ्कित भने नहुन सबैसगँ आग्रह गरे । पछिल्लो २४ घण्टामा चार हजार ५३६ को परीक्षण गरेकामा २६७ को नतिजा पोजेटिभ हुने परिस्थितिले प्रभावित हुने क्रम बढदै गएको स्पष्ट हुन्छ भन्दै मन्त्री त्रिपाठीले सङ्क्रमण रोकथामका लागि नीतिगत र कानूनी व्यवस्था यथार्थरुपमा अवलम्बन गरिएको बताए ।

    कोरोनाबाट आइतबारसम्म तीन हजार ३२ ले ज्यान गुमाएको र मृत्यदर १.१ प्रतिशत रहेको सो अवसरमा जानकारी दिइयो । गत कात्तिकको दोस्रो सातामा सङ्क्रमणको दर सबैभन्दा उच्च रहेकामा त्यसपछि घटेको तथा पछिल्ला केही दिनमा बढेको हुँदा जनस्वास्थ्यको मापदण्डलाई उच्चतम रुपमा पालना गर्न आवश्यक रहेको उनले बताए ।

    आगामी असार मसान्तसम्ममा ६० लाख भन्दाबढी जनतालाई खोप प्रदान गरिसक्ने योजना रहेको मन्त्री त्रिपाठीले जानकारी दिए । कोभिड–१९ सङ्क्रमण रोकथामका लागि औषधि व्यवस्थापन र रोकथाम लगायतका सबै खर्चमा हालसम्म रु पाँच अर्ब १७ करोड ७२ लाख ८३ खर्च भएको तथा आगामी दिनमा औषधिलगायतका लागि ४८ अर्ब बजेट सुरक्षित राखिएको उनले जानकारी दिएका थिए ।