• काठमाडौं । सरकारको निर्णयानुरुप सहायता सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम चीनको राजधानी बेइजिङ जाने भएको छ । कोभिड–१९ लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी ए ३३० जहाजले चीनको ‘बेजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थल’मा यही चैत १५ गते उडान भर्ने भएको हो ।

    बेजिङबाट स्वास्थ्य सामग्री लिएर निगमको जहाज भोलिपल्ट राति (सोमबार) काठमाडौँ अवतरण गर्ने निगमको उडान तालिका रहेको निगम स्रोतले जनाएको छ । । यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो । सो सरकारी निर्णयबमोजिम चीन सरकारले उपलब्ध गराउने वस्तुगत अनुदान स्वीकार गर्ने निर्णय भएअनुरुप आठ लाख मात्र कोभिडविरुद्धको खोपलगायत सहायता सामग्री लिन निगमको जहाज बेइजिङ जाने तयारी भएको जनाइएको छ ।