• सामान्य प्रयासमै गर्न सकिने सुधारका लागि पनि बजेट र जनशक्ति अभाव देखाएर सरकारी कार्यालय पन्छिछन् । यही कारण सार्वजनिक सेवा प्रवाहमा कहिल्यै सुधार हुन सकेको छैन । नुवाकोट जिल्ला प्रशासन कार्यालयले भने थोरै प्रयासमा पनि कार्यालयको स्वरुप र सेवा प्रवाहको अवस्था परिवर्तन गर्न सकिन्छ भन्ने उदाहरण देखाएको छ ।

    सेवाग्राहीलाई बस्न, पढ्न स्थानसहित तातोचिसो पानीको व्यवस्था । स्तनपान कक्ष, मोवाइल चार्ज स्टेसनदेखि बालबालिका खेल्ने झोलुङ्गोसम्म कार्यालय परिसरमै । नुवाकोट प्रशासन कार्यालय भित्रको स्वरुप हो यो । कार्यालयको बाहिरी स्वरुपमा मात्रै होइन सेवा प्रवाहमा पनि यस्तै सुधार छ । कार्यालयको भौतिक र सेवास्तरमा आएको परिर्वतनले सेवाग्राही दंग छन् ।

    सधैं अव्यवस्थित देखिने जिल्ला प्रशासन कार्यालयमा अचेल आएको सुधारले घण्टौं लाइन लागेर सेवा लिनुपर्ने बाध्यताको अन्त्य भएको छ । आठ महिना अगाडि प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी लिएका झंकनाथ ढकालले प्रशासन मा सुधार गरेर सेवा प्रवाहलाई चुस्त बनाएका हुन् । इच्छाशक्ति भए कार्यालयको सुधारमा समय लाग्दैन भन्ने कुराको उदाहरण ढकालले दिएका छन् ।

    जिल्ला प्रशासन कार्यालय नियमनकारी निकाय पनि हो । तर, धेरैजसो स्थानमा यही कार्यालयमा दुर्गती छ । नुवाकोट प्रशासनले आफ्नो आन्तरिक सेवा प्रवाहमा सुधार त गरेकै छ, विकास निर्माणका काममा समन्वय बढाएको छ । यस्तै, सुशासनलाई बढावा दिन अन्य सरकारी कार्यालयमा हुने ढिलासुस्ती हटाउन समेत चासो देखाउँदै आएको छ । उही पूर्वाधार, उही जिम्मेवारी तर जिल्ला प्रशासन कार्यालयमा देखिएको सुधारले प्रयास गरे सरकारी सेवामा परिर्वतन ल्याउन सकिन्छ भन्ने सन्देश दिएको छ ।