• काठमाडौं । भारतले नेपाललाई अनुदानमा १० लाख डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले सो कुराको जानकारी दिएका हुन् ।

    मन्त्री त्रिपाठीका अनुसार भारतले उपलब्ध गराएको खोप बिहीबार काठमाडौं आइपुग्ने छ । बुधबार भारतले उपलब्ध गराउन लागेको खोपबारे जानकारी दिन मन्त्री त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन आयोजना गरेका हुन् ।

    भारतमा अहिले कोरोनाविरूद्धका दुई खोप उत्पादन भइरहेका छन् । जसमा अक्सफोर्ड विश्वविद्यालय र अष्ट्रेजेन्काले विकास गरेको खोपलाई भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरिरहेको छ भने भारत वायोटेकको अर्को भ्याक्सिन भारतमै बनेको हो ।

    उक्त खोप नेपाललाई प्राप्त भएपछि पहिलो चरणमा नेपालको जनसंख्याको ३ प्रतिशतलाई लगाइनेछ । जसमा सरसफाइकर्मी, स्वास्थ्यकर्मी,एम्बुलेन्स चालक, सुरक्षाकर्मी र शव व्यवस्थापनमा खटिएकाहरुलाई लगाइने मन्त्री त्रिपाठीले जानकारी दिएका छन् ।

    भारतले नेपाललगायत भूटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई कोरोनाविरुद्धको खोप अनुदान सहायता स्वरुप उपलब्ध गराउने घोषणा गरेको छ ।