• काठमाडौं । गएको २४ घण्टामा ५५४ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा १८८ महिला र ३६६ पुरुष रहेका छन् । यस अवधिमा ५ हजार २६९ वटा नमुना परीक्षण भएकामा उक्त संख्यामा नयाँ संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

    यीसँगै नेपालमा अहिलेसम्म संक्रमितको संख्या २ लाख ६४ हजार १५९ पुगेको छ । त्यसैगरी यसको संक्रमणबाट हालसम्म मृत्यु हुनेहरु १ हजार ९ सय ९ जना पुगेका छन् । २४ घण्टामा मात्र ६ को मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार शुक्रबार कुल संक्रमितमध्ये २ लाख ५७ हजार २२९ जना संक्रमणमुक्त भएका छन् भने बाँकी सक्रिय संक्रमित ५ हजार २१ पुगेका छन् । कोरोनाको आशंकामा देशभरका क्वारेन्टाइनमा ३३८ रहेका छन् । त्यस्तै नेपालमा हालसम्म पीसीआर विधिबाट १९ लाख ७४ हजार ५६१ परीक्षणहरु भएका छन् ।