• काठमाडौं । सरकारको स्थानीय तहसम्म स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले आज ३०९ स्थानीय तहमा अस्पताल भवन र तीन वटा प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास गरेको छ । स्वास्थ्य तथा जनसड्ख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३९६ स्थानीय तहमध्ये ३०९ वटा र तीन वटा प्रदेशमा सरुवा अस्पताल निर्माणका लागि भवनको शिलान्यास गरेको हो ।

    स्थानीय तहमा बन्ने अस्पतालको भवन पाँचदेखि १५ श्ययाका र सरुवा अस्पताल ५० श्ययाका रहेका छन् । प्रदेश नं २, वाग्मती र कर्णाली प्रदेशमा सरुवा रोग अस्पताल निर्माणका लागि भवन शिलान्यास गरिएको छ ।

    सरकारले गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्न यसै आर्थिक वर्षको नीति तथा कार्यक्रममा अस्पताल नभएका सबै स्थानीय तहमा जनसङ्ख्या, बिरामी दर, स्थानीय तहको माग र आवश्यकता एवं क्षमतासमेतलाई मध्यनगर गर्दै पाँचदेखि १५ श्ययाको आधारभूत अस्पताल, सातवटै प्रदेशमा सरुवा रोग अस्पताल र अस्पतालमा आकस्मिक कक्षहरु स्थापना गर्ने कार्यक्रम रहेको थियो ।

    सरकारले यसै आर्थिक वर्षमा सातवटै प्रदेशमा सरुवा रोग अस्पताल बनाउने घोषणा गरेको थियो ।