• काठमाडौं । विगत २४ घण्टामा २ हजार ९३३ जना कोरोनाभाइरस संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले सोमबार जारी गरेको विवरण अनुसार यस अवधिमा १३ हजार ४४६ पीसीआर परीक्षण भएकोमा उक्त संख्यामा नयाँ संक्रमित थपिएका देखिएको छ । यीसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ ।

    त्यसैगरी यसै अवधिमा ३ हजार १५० जना कोरोनामुक्त भएका मन्त्रालयले जानकारी दिएको छ । यसरी अहिलेसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ३७ हजार ९ सय ९२ जना पुगेको छ । मन्त्रालयका अनुसार सोमबार थपिएका सहित देशभर सक्रिय संक्रमितको संख्या हालसम्म ३७ हजार ५२४ पुगेको छ । हालसम्म क्वारेन्टाइनमा २ हजार ११९ जना बसिरहेका छन् ।

    २४ घण्टामा विभिन्न जिल्लामा गरी थप २४ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । यीसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ८४ पुगेको छ ।